मेनपावर कम्पनीका हर्ताकर्ता फरार हजारौँ सर्वसाधारणको बिचल्ली

झापाको दमकमा इजाजत नलिई सञ्चालन गरिएका दर्जनौँ मेनपावर कम्पनीका शाखा कार्यालय बन्द गरेर सम्बन्धित व्यक्तिहरू फरार भएपछि यी शाखामार्फत वैदेशिक रोजगारमा गएका हजारौँ सर्वसाधारण बिचल्लीमा परेका छन् ।
दमक गगरपालिका १० मा शाखा खोलेर बसेका बज्र ह्युमेन रिसोर्सका सञ्चालक गत असोजदेखि कार्यालय बन्द गरेर फरार भएका छन् । त्यस्तै दुई वर्षदेखि शाखा सञ्चालन हुँदै आएको सिग्मा ओभरसिज मेनपावर कम्पनी गत पुसदेखि नै बन्द भएको छ ।
डेढ वर्षदेखि शाखा खोलेको युनाइटेड मेनपावर कम्पनी कार्यालयमा ताला लगाएर गत चैतदेखि यसका सञ्चालक फरार भएका छन् । डेढ वर्षदेखि दमक १२ मा सञ्चालन गरिँदै आएको ओभरसिज इम्प्लोइमेन्ट सर्भिस गत पुसदेखि सम्पर्क बाहिर रहेकामा डेढ महिना अघिदेखि कार्यालयको समेत अत्तोपत्तो छैन ।
दमक ११ मा खोलिएका दियालो मेन पावर र कावेली हृयुमेन रिसोर्ससमेत अहिले अस्तित्वमा छैनन् । सोही क्षेत्रमा रहेको ब्रोड्वे ओभरसिज र त्रिकोण मेनपावरसमेत बन्द भइसकेका छन् । यहाँका अन्य नाम नखुलेका केही मेनपावरका शाखा सञ्चालन भई हाल फरार छन् । दमक क्षेत्रमा मात्र एक दर्जनभन्दा बढी यस्ता शाखा खोलेर सर्वसाधारणमाथि ठगी गरिएको गुनासो छ । यी शाखाहरूको कुनै पनि इजाजतपत्र कार्यालयमा नआएको जिल्ला श्रम कार्यालय झापाका निमित्त शाखा प्रमुख हरिशरण भट्टराईले जानकरी दिनुभयो । शाखा खोल्नका लागि सम्बन्धित मेनपावर कार्यालयको अनुमति लिएर सरकाको वैदेशिक रोजगार कार्यालयबाट अनिवार्य स्वीकृत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।


कानुनमा यस्तो व्यवस्था भए पनि यहाँ खोलिएका उल्लेखित शाखाले कानुनी प्रक्रिया पुरा नगरेको श्रम कार्यालय झापाको भनाइ छ । यस्ता शाखाले तोकिएको भन्दा धेरै पैसा असुलेर काठमाडौँका विभिन्न मेनपावर कम्पनीलाई वैदेशिक रोजगारीमा जान चाहने जनशक्ति आपूर्ति गर्ने गरेका छन् ।
दुईदेखि तीन वर्षको करार अवधिमा वैदेशिक रोजगारमा गएर सम्झौता अनुसारको तलब सेवा सुविधा नपाएका सर्वसाधारणलाई सबैभन्दा पीडा भएको छ । दुई वर्षदेखि सञ्चालन भएका यस्ता मेनपावरका शाखा गत असोजसम्ममा धेरैजसो बन्द भइसकेका छन् । यति धेरै मेनपावरका शाखा बन्द गरेर सम्बन्धित व्यक्ति फरार हुनुले यस व्यवसायप्रति नकारात्मक सन्देश गइरहेको मेनपावर कम्पनी व्यवसायी सङ्घ झापाका अध्यक्ष भानु शिवाकोटी बताउनुहुन्छ । उहाँका अनुसार यस्ता शाखाको वैधानिकताका लागि जिल्लामा नियमित अनुगमन नहुँदा यस्तो गलत प्रवृत्तिको विकास हुँदै गएको छ ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..