वैदेशिक रोजगारीको पीडा / डेढ वर्षमा पनि शव आएन

रोजगारीका लागि साउदी अरब पुगेका श्रीमानको सवारी दुर्घटनामा डेढ वर्षअघि मृत्यु भएको जानकारी आए पनि दैलेखकी महिलाले हालसम्म शव नपाएको गुनासो गरेकी छन्। 

दैलेखको पूर्वमा पर्ने जगनाथ गाविस वडा नं.७ मनघर गाउँकी २८ वर्षीया कलाकुमारी थापाले ०६७ असोज २१ गते साउदी अरबको साममा कम्पनीमा कार्यरत श्रीमान बखतबहादुर थापाको सवारी दुर्घटनामा मृत्यु भएकॊ जानकारी पाएको बताइन् ।गाउँकै बमबहादुर खड्काले टेलिफोन गरी जानकारी दिए’ उनले दुखेसो पोख्दै भनिन्- श्रीमानको मृत्युको खबर पाएलगत्तै शव उपलब्ध गराइदिन काठमाडौं गई परराष्ट्र मन्त्रालयमा निवेदन दिएँ डेढ वर्ष बितिसक्यो अहिलेसम्म शव नपाएकोले धार्मिक संस्कारअनुसार दाहसंस्कार र क्रियाकाज गर्न सकेको छैन। श्रीमानको शव लिनका लागि सबै कागजात बनाई तीन पटकसम्म काठमाडौं पुगे पनि राजदूतावास र परराष्ट्र मन्त्रालयले सुनुवाइ नगरेका कारण रित्तो हात घर फर्कन बाध्य भएको उनले बताइन्।

उनले गाविस कार्यालयले परराष्ट्र मन्त्रालयको कन्सुलर तथा कानुनी परामर्श शाखालाई गरिदिएको सिफारिस पत्र देखाउँदै भनिन्- अब एकचोटि फेरि काठमाडौं जान्छु श्रीमानको शव नआउन्जेलसम्म परराष्ट्र मन्त्रालयमै धर्ना दिइरहन्छु। कलाकुमारीका अनुसार उनको पतिको शव हालसम्म साउदी अरबको जिजनस्थित भेद अस्पतालमा रहेको बुझिएको छ।

परिवार पाल्न गाह्रो भएकोले घरसल्लाहमा रोजगारीको लागि साउदी अरब जान गाउँलेबाट चर्को ब्याज दिने शर्तमा १ लाख ३५ हजार रुपियाँ ऋण लिई ०६६ वैशाख १ गते उनी काठमाडौंबाट साउदी अरब उडेको कलाकुमारीका दाजु धनबहादुर बुढाले बताए।

श्रीमानको शवका लागि स्थानीय प्रशासन राजनैतिक दलका नेतादेखि परराष्ट्र मन्त्रालयमा श्रीमानको तस्वीर बोकेर डेढ वर्षदेखि धाइरहेकी कलाकुमारीले ०६८ मंसिर ८ गते गाविस कार्यालयबाट मृत्युदर्ता गरिसकेकी छन्। उनको साथमा अहिले ५ वर्षीया छोरी कल्पना र २ वर्षीय छोरा नवराज रहेका छन्।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..