देउवा पक्षद्वारा कांग्रेस बैठक बहिष्कार

काठमाडौ, मंसिर ७ - 
संस्थापन पक्षले आन्तरिक विवाद समाधानमा गम्भीरता नदेखाएको आरोप लगाउँदै कांग्रेस नेता शेरबहादुर देउवा पक्षका सदस्यहरूले बुधबारको केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् । 

संविधानसभाको म्याद थपसम्बन्धी एजेन्डामा छलफल गर्न बोलाइएको बैठक देउवापक्षीय सदस्यको अनुपस्थितिका कारण कुनै निर्णयमा पुग्न सकेन । यसअघि भ्रातृसंस्थाको कार्यसमिति भंग गर्ने निर्णयमा उपस्थिति भएरै बहिष्कार गरेको देउवा पक्ष बुधबार भने सानेपास्थित पार्टी कार्यालयमा गएन । 

बैठकस्थलबाट विज्ञप्ति जारी गरी सभापति सुशील कोइरालाले देउवा पक्षलाई उपस्थित भएर आफ्ना कुरा राख्न अपिल गरेका छन् । त्यति गरेपछि सुरु भएको औपचारिक बैठक एकैछिन बसेर टुंग्याइएको थियो । बैठक बस्नुअघि भएको लामो अनौपचारिक छलफलमा बहुमत सदस्यहरूले संविधानसभाको म्याद बढीमा तीन महिना थप्नुपर्ने विचार राखेका थिए । तर, एउटा पक्षको अनुपस्थिति रहेको बैठकले

निर्णय लिँदा देशभर नकारात्मक सन्देश जान सक्ने भन्दै निर्णयमा पुग्न केन्द्रीय समिति र संसदीय दलको शुक्रबार संयुक्त बैठक बोलाइएको छ । 

महामन्त्री प्रकाशमान सिंहले बहिष्कार गर्नुको कारण पनि बैठकमा राखेर छलफल गर्नुपर्नेमा अनुपस्थितै भएर बहिष्कार गरेको घोषणा गर्नुले प्रजातान्त्रिक प्रक्रियालाई चुनौती दिएको बताए । 

'अल्पमतले बहुमतलाई निर्देशित गर्ने प्रयास हो भने यो हुन सक्दैन, नत्र सभापतिजीले पार्टीमा सबैलाई समेटेर लैजाने कुरा बारम्बार गर्नुभएको छ, आजको बैठकमा पनि उहाँले यही कुरा दोहोर्‍याउनुभएको छ,' सिंहले भने, 'पार्टीभित्र सहमति भएमा राम्रो हो, नत्र बहुमतबाट हुने निर्णय नै प्रजातान्त्रिक पद्धति हो । यसलाई अल्पमतमा पर्नेले अप्ठ्यारो मान्न हुँदैन ।' 

बैठक चलिरहेकै बेला कांग्रेस सभापति सुशील कोइरालाले सहभागी हुन देउवा पक्षलाई अपिल गरे । उनले 'पार्टीका कामहरू यथासम्भव सहमति हुने गरी मिलाएर लगिने' विश्वास दिलाउँदै अपिलमा भनेका छन्, 'म सम्पूर्ण साथीहरूलाई पार्टीका नियमित बैठक र कार्यक्रममा सरिक भई सबै कुरा संस्थ्ाागतरूपमा मिलाउँदै अघि बढ्न आह्वान गर्छु ।' 

'राजीनामा जुन कारणले दिएको हो, त्यसलाई सम्बोधन नगरी बैठक बोलाइएकाले बहिष्कार गर्ने निर्णय गरिएको हो,' देउवा पक्षीय नेता विमलेन्द्र निधिले आफ्नो पक्षको भेलापछि संवाददाताहरूको प्रश्नमा भने, 'संविधानसभाको म्याद थप्ने एजेन्डाबारे यसअघि पनि केन्द्रीय समितिले निर्णय गरेको होइन । तर, सभापतिलाई मंसिर १४ आउँछ भन्ने थाहा थियो, त्यसैले समाधानका लागि उहाँ अग्रसर हुनुपथ्र्यो । राजीनामा सम्बोधन नभएसम्म हामी कुनै बैठकमा उपस्थित हुँदैनौं ।' 

कोइराला भने आफ्नो अपिलपछि पनि बैठकमा अनुपस्थित रहे 'पेलेरै जाने' योजनामा रहेको उनी निकट एक सदस्यले बताए । 'अहिलेको चुनौतीपूर्ण घडीमा कांग्रेसको काँधमा जुन राष्ट्रिय जिम्मेवारी छ र जस्तो विकट परिस्थितिको सामना कांग्रेसले गर्नु परेको छ, त्यसलाई दृष्टिगत गरी साथी शेरबहादुरजीको राजीनामालाई अस्वीकार गरेको हुँ,' बुधबार गरेको अपिलमा उनले भनेका छन्, 'लोकतन्त्रको मूल्य, मान्यता र आदर्शअनुरूप नै कांग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्शलाई स्थापित गर्दै एकजुट भएर अगाडि बढे यसका नेता, कार्यकर्ता र लोकतन्त्रमा आस्था राख्ने सबै नेपालीको भविष्य सुरक्षित रहनेछ ।' 

दिउँसो १ बजे बोलाइएको बैठक देउवा पक्षका सदस्यहरूलाई उपस्थित गराउने प्रयास असफल भएकाले साँझ ७ बजे सुरु गरिएको थियो । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बिहीबार दिनभरमा विवाद सम्बोधन गरी शुक्रबारको बैठकमा देउवा पक्षलाई समेत सहभागी गराएर संविधानसभाको म्यादबारे औपचारिक निर्णय लिने प्रयास हुने बताए ।  

बैठकमा उपस्थित हुने/नहुनेबारे निर्णय लिन बुधबार बिहान देउवा पक्षको भेलासमेत बसेको थियो । त्यहाँ पुगेका केन्द्रीय सदस्य केसी, सुरेन्द्र पाण्डे, पुष्पा भुसाललगायत केही सदस्यले भने बैठकै बहिष्कार गरेर पार्टीभित्र विभाजन देखाउन नहुने फरक धारणा राखेका थिए । सहभागी हुन पाण्डेले जोड दिँदा केहीछिन भनाभनसमेत भएको स्रोतको दाबी छ । देउवा पक्षको भेलामा सहभागी भए पनि केसी केन्द्रीय समिति बैठकमा पनि पुगेका थिए ।     

'मैले शेरबहादुरजीकहाँ गएर तपाईं नगए पनि पार्टीभित्र एकताका लागि अरू सदस्यहरूले बैठक बहिष्कार गर्नु हुँदैन भनेर भनेको हुँ,' केसीले भने, 'सभापतिजीले पनि विवाद मिलाएर एकतासाथ बैठक राख्नुपर्छ, अन्तरसंघर्ष चर्काएर पार्टीमा थप क्षति पुर्‍याउनु हुँदैन ।'
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..