मनोरञ्जनमा कर्फ्यु

राजधानीमा मनोरञ्जनको मेरुदण्ड मानिएको डान्सबार, दोहोरी साँझ र डिस्को थेकहरूमा सरकारको वक्रदृष्टि परेपछि मनोरञ्जन व्यवसाय संकटमा परेको छ। सरकारले समाजको नैतीक पुलिसिङ सुरु गरे पनि व्यभिचार, विकृति र अपराध बढेको बढ्यै छन्। मनोरञ्जन गर्न पाउने नागरिक अधिकारमा सरकारले अघोषित कर्फ्यु लगाएपछि यो व्यवसायको अवस्था कस्तो छ त? केपी ढुंगाना, राजन नेपाल र स्वरूप आचार्यको रिपोर्ट : 

गृहमन्त्रालय होस् या स्थानीय प्रहरी प्रमुख, शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउने उनीहरूको अभियानको पहिलो सिकार बन्दै आयो, रात्रीकालीन मनोरञ्जन व्यवसाय। हरेक नयाँ गृहमन्त्रीको कार्यकालको प्रारम्भ ठमेलमा छापा हान्ने निर्देशनवाट सुरु हुन थाल्यो। अनि, काठमाडौँ प्रहरी प्रमुखको पहिलो पत्रकार सम्मेलन डान्सबारमा छापा मारेर पक्राउ गरेका कर्मचारीको प्रर्दशनवाट सुरु हुने परम्परा बस्यो। यही परम्पराको सिकार भयो, विकसित शहरको अभिन्न अंग नाइट लाइफ। काठमाडौँको रात्रीकालीन मनोरञ्जन घिटिघिटीको अवस्थामा पुगिसकेको छ।
व्यवसायीहरू सरकारको अनुदार नीति र प्रशासनको मनपरीले व्यवसाय धरासायी भएको बताउँछन्। 'केही काम गर्न सकिएन भने गृहमन्त्रीले रात्रीकालीन व्यवसायले सुरक्षाको खतरा बढाएको भाषण गर्छन्,' एक व्यवसायी तीतो पोख्छन्, 'प्रहरी लाइन लागेर डान्सबार, डिस्को र दोहोरीमा छापा हान्न आउँछन्। उनीहरूले कहिल्यै यो व्यवसायलाई व्यवस्थित गर्ने प्रयासै गरेनन्। केबल आक्रमण गरे।'
सञ्चार माध्यम, महिला अधिकारकर्मीले समेत अनावश्यक यही व्यवसायलाई तारो बनाएको गुनासो गर्छन्, रात्रीकालीन मनोरञ्जन व्यवासायी संघका अध्यक्ष समिर गुरुङ। भन्छन्, 'डान्सबार भन्नासाथ अनैतीक काम मात्र हुन्छ भन्ने गलत प्रचार गरियो। व्यावसायिक आचरणमा बसेर काम गर्नेहरूले पनि गरिखान पाएनन्।'
२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको सफलतासँगै माओवादी खुला राजनीतिमा आयो। सँगै रात्रीकालीन व्यवसाय पनि फस्टाउन थाल्यो। बृहत् शान्ति सम्झौतापछि शान्तिको आशमा शहरियाहरू डान्सबार, दाहोरी र डिस्कोमा झुम्न थाले। सरकारको ध्यान राजनीतिक व्यवस्थापनमा मात्रै केन्द्रित थियो। त्यसैल बेलुका सात बजे ब्युँझने रात्रीकालीन व्यवसाय बिहान २ बजेसम्म जमेकै हुन्थे। रात्रीकालीन व्यवसाय हट स्पट ठमेलबाट विस्तार हुँदै रिङरोड क्षेत्रमा फैलियो। ठमेललाई सुन्धारा, गौशाला, नयाँ बानेश्वर, चाबहिल, सामाखुसीले समेत चुनौती दिन थालेको थिए। तर, व्यवसायीको यो सुखद अनुभव दिगो हुन पाएन। लोकतान्त्रिक आन्दोलनमा कुम जोडेर हिँडेका दलका नेताबीच खटपट सुरु भयो। र, सस्तो लोकप्रियताका लागि यो व्यवसायमाथी आक्रमण सुरु भयो। 
०००

माओवादीसँगै उसका युवा संगठन, मजदुर संगठन खुल्ला भए र संगठन विस्तारमा केन्द्रित भए। व्यवसाय सञ्चालन गर्न गृह प्रशासन र स्थानीय टोलेगुन्डाहरूको चित्त बुझाए पुग्थ्यो। उनीहरूको सक्रियतासँगै आर्थिक व्यवहार बढेको अनुभव सुनाउँछन् व्यवसायीहरू।
माओवादी सत्ता सञ्चालकको प्रमुख भएपछि यी व्यवसायीको दुर्दशा सुरु भयो। २०६५ सालमा एमाले गृहमन्त्री वामदेव गौतम उनीहरूका लागी अभिशाप बनेर आए। अहिलको यो अवस्थाको प्रमुख कारण गौतमकै लहड रहेको हाकाहाकी बताउँछन् व्यवसायीहरू। राजनीतिक दलहरूबीच बढ्दो द्वन्द्वपछि उनले आफ्नो कार्यकाल सफल बनाउन सुरक्षाको अवस्थामा सुधार गर्ने भन्दै रात्रीकालीन व्यवसायको मूलमर्ममा प्रहार गरे। रात्रीकालीन व्यवसायलाई उनले किराना पसलको नियम लगाए। जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐनको प्रयोग गर्दै रात्रीकालीन व्यवसाय १० बजे नै बन्द गर्नुपर्ने उर्दी जारी गर्‍यो।
गौतम फेरिए, तर उनीपछिका गृहमन्त्रीहरू फेरिएनन्। भिम रावल, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ हुँदै विजयकुमार गच्छदारसम्म आइपुग्दा राती १० बाट बढेर १२ बजेसम्म पुगेको छ। तर, व्यवहारमा कुनै परिर्वतन नआएको व्यवसायीहरूको अनुभव छ। 'रात्रीकालीन व्यवसाय भनेकै रातभर सञ्चालन गर्ने हो,' संघका अध्यक्ष समिर गुरुङ भन्छन्, 'जबसम्म २४ घण्टे सुविधा हुन्न, व्यवसाय उभो लाग्न सक्दैन।'
काठमाडौँका प्रहरी प्रमुखहरूले समेत गृहमन्त्रीको लोलीमा बोली मिलाए। काठमाडौँ परिसरका तत्कालीन प्रहरी प्रमुखहरू नवराज सिलवाल, गणेश केसी, रमेश खरेल, केदार रिजाल हुँदे राजेन्द्र श्रेष्ठसम्म आइपुग्दा अवस्था उही छ।

अझ खरेलको समयमा सार्वजनिक अपराध ऐन टेकेर मात्र कारबाही गर्दा प्रभाव नपरेको भन्दै उनले नांगो नाच नचाएको अभियोगमा डान्सबारका सञ्चालकमाथि मानव बेचबिखनको अभियोगै लगाए। सोही ऐनअर्न्तगत करिब सातजना व्यवसायी कारागार पुगेपछि व्यवसायीहरू त्राहिमाम भए।
प्रारम्भमा रात्रीकालीन व्यवसायका कारण उपत्यकाको सुरक्षा अवस्थामा चुनौती थपिएको भन्दै गृहले व्यवसायमाथी धावा बोलेको थियो।
गृहको विश्लेषण केही हदसम्म सत्य नजिक थियो। उपत्यकाका रात्रीकालीन व्यवसाय प्रहरीको संगठित अपराधीको सूचीमा रहेका व्यक्तिहरूको मुठ्ठीमा थियो। दिपक मनाङे, चक्रे मिलन, गणेश लामा, कुमार घैँटे, दिनेश अधिकारी 'चरी', कुनै न कुनै रूपमा रात्रीकालीन व्यवसायमा संलग्न थिए। 
डान्स, डिस्को र पबमा बाउन्सरका रूपमा कार्यरत युवाको जबर्जस्ती रकम असुली, लुटपाट, अवैध हतियार, ठेक्कापट्टा कब्जा, रक्त चन्दन तस्करी र हत्याजस्ता आपराधिक घटनामा संलग्नता बढ्यो। यसले गृह र प्रहरीको दाबीलाई पुष्टि गर्न मद्दत गर्‍यो।

सुरक्षा सुधारको तर्क कमजोर देेखिएपछि सामाजिक मर्यादाविपरीत काम हुने गरेको, मनोरञ्जनको बहानामा नांगो नाच नचाएर अश्लीलता फैलाएको भन्दै सामाजिक मर्यादा कायम गर्न कडाई गरेको तर्क सुरु भयो। बामदेवले सुरु गरेको नैतिकताको तर्कलाई उनीपछिका गृहमन्त्रीले पनि पछ्याए।
'केही व्यवसायीले चाँडै आर्थिक लाभ लिन डान्सबारको आवरणमा नग्न नृत्य पनि गराए, समिर भन्छन्, 'सावर डान्सबारको नाममा देह व्यापारको पनि काम गरे होलान्। तर, एक तिहाईको संख्यामा रहेका यस्ता व्यवसायीलाई देखाएर सबैलाई त्यही सूचिमा राख्नु गलत हो।'
अश्लीलता फैलाएको र महिला कामदारमाथि यौन दुर्व्यवहार हुने गरेको, कतै दर्ता नै नगरी सञ्चालन गर्ने गरेको आरोपहरू लागेपपछि व्यवसायीहरूले कम्पनी रजिस्टारको कार्यालय, स्थानीय निकायमा दर्ता गरेर व्यवसाय सञ्चालन गर्न थाले।
व्यवसायीहरू रात्रीकालीन व्यवसाय धरासायी हुनुमा भित्री खेल आर्थिक संकलन नै रहेको ठोकुवा गर्छन्। तत्कालीन गृहमन्त्री गौतमले रात्रीकालीन व्यवसाय र क्यासिनोमाथि एकैपटक धावा बोल्नुको भित्री रहस्य पनि अर्थ नै रहेको देखिन्छ। भनिन्छ- प्रारम्भमा कडाई गरेर संकटमा पारेपछि व्यवसायीलाई दुहुने उनको योजना थियो। तर, व्यवसायीहरू विरोधमा उत्रिए। उनीहरू गृहको आलोचनामा सडकमै उत्रिएपछि रात्रीकालीन व्यवसायको समयसीमा गृहमन्त्री र व्यवसायीविच अस्तित्वको लडाइँ बन्यो। सम्बन्ध चिसो भएपछि बार्गेनिङको वातावरण नै बिग्रियो। सत्ताको शक्तिका अगाडि व्यवसायीको केही चलेन। गौतमले पेलिरहे। उनीहरूकै हार भयो। त्यसपछि पनि अपराध नियन्त्रण र सामाजिक मर्यादाको खोल ओढेर हरेक सरकारले उनीहरूलाई पेलि नै रह्यो। 'जे बहाना बनाए पनि सबैको एउटै उद्देश्य नियमको डन्डा देखाएर अर्थ संकलन गर्नु नै हो,' नाम उल्लेख गर्न नचाहने एक व्यवसायीले भने। व्यवसायीहरूका अनुसार व्यापार चौपटै भएको अवस्थामा पनि आर्थिक फर्माइस भने रोकिएको छैन। 'व्यापार सुस्तै भए पनि रिचार्ज कार्ड किनिदिनेदेखि निश्चित हप्ता नबुझाए रेस्टुरेन्टमा ताल्चै लाग्ने अवस्था छ,' ती व्यवसायीले भने, 'अहिले पनि स्थानीय प्रहरी युनिटलाई मासिक पाँचदेखि १० हजार रुपैयाँसम्म बुझाइ नै रहेका छौँ।'
०००
रात्रीकालीन व्यवसाय कतिखेर खोल्ने, कतिखेर बन्द गर्ने कुनै निश्चित नियम छैन। प्रस्ट कानुन नहुँदा प्रशासनको मौखिक निर्देशन नै कानुन बन्ने गरेको छ। गृहले दिने मौखिक निर्देशनलाई जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐनले शान्ति सुरक्षा बहालीको जामा लगाएर निर्देशन दिने गरेको छ। अनि कानुन परिपालनाको जिम्मेवारी बोकेको प्रहरी संगठनले अस्पष्ट कानुनलाई नै हतियार बनाउने गरेको छ। प्रशासकको मुडअनुसार समय निर्धारण हुने भएकाले अनावश्यक तनाव बेहोर्नुपरेको व्यवसायीहरूको गुनासो छ।

गृहमन्त्रालयका प्रवक्ता सुधिरकुमार शाह स्थानीय प्रशासन र व्यवसायीको सहमतिअनुसार नै राती १२ बजेसम्म खोल्ने निर्णय गरिएको बताउँछन्। 'अहिले कोही समय बढाउनु पर्‍यो भनेर आएका छैनन्,' उनी भन्छन्, 'व्यवस्थित ढंगले प्रक्रिया अघि बढ्यो भने प्रशासन लचिलो हुनसक्छ। यो काम स्थानीय प्रशासनले गर्ने भएकाले हामीसम्म आउनै पर्दैन।'
सरकारले रात्रीकालीन व्यवसायले अश्लीलता फैलाएको भन्दै कडाई गरेपछि बेरोजगार भएका युवती रोजगारको खोजीमा दुबई, मलेसिया, युइए र अफ्रिकाजस्ता देशमा पुगेका छन्। ती देशमा उनीहरूले राम्रो कमाइ गरे पनि उनीहरू जोखिमपूर्ण अवस्थामा छन्। डान्सरका रूपमा काम गर्न गएका युवती बेचिएको र जबर्जस्ती यौन व्यापारमा लगाइएका थुप्रै घटना सार्वजनिक भइरहेका छन्।
डान्सबारका डान्सरहरूलाई विदेश पुर्‍याउन संगठित समूह नै सक्रिय रहेको बताउँदै समिर भन्छन्, 'वास्तवमा मानव बेचबिखन त त्यो हो नी, खै त सरकारले नियन्त्रणको प्रयास गरेको? हामीले के के गर्नुपर्‍यो, तयार छौँ भन्दा पनि सरकारले वास्ता नगर्नुका पछाडि त्यही संगठित समूहको प्रभाव पनि हुनसक्छ।'
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी रविराज श्रेष्ठ रात्रीकालीन व्यवसायको आवरणमा आपराधिक गतिविधि बढेकाले नियन्त्रणका लागि समय सीमा तोकिएको बताउँछन्। चौबिसै घण्टा निगरानीमा खटाउन प्रहरी जनशक्तिको अभाव र राती यातायात, बत्तीलगायत भौतिक सुविधाको कमीका कारणसमेत रात्रीकालीन व्यवसाय सञ्चालनको निश्चित समय तोक्नु परेको उनको तर्क छ। 
'रक्सी खाएर झगडा गर्ने, आएका ग्राहक लुट्ने, बाउन्सरका रूपमा राखेका केटाहरू लगाएर ग्राहकलाई नै कुट्नेजस्ता आपराधिक गतिविधी बढेकाले नियन्त्रणका लागी समयसीमा तोक्न बाध्य भएका हौँ,' उनी भन्छन्, 'यदि व्यवसायीहरू आफ्नो आचारसंहिता आफैँ बनाएर आयुक्त कार्यालयमा छलफल गर्न आउँछन् भने हामी समयसीमाका बारेमा छलफल गर्न तयार छौँ।'


नाइट लाइफको खोजी

गोपाल दाहाल- दिन आफ्नो, रात अर्काको भन्ने नेपाली उखानै छ। नेपालीहरूको परम्परागत जीवन शैली दिनमा आधारित छ। तर, पश्चिमा संस्कृतिको अनुशरण गर्दै नेपालीहरू पनि रात्री जीवनमा रमाउन थालेका छन् अहिले।
शहरहरूमा जताततै खुलिरहेका डिस्को थेक, डान्स बार, दोहोरी साँझहरूले नेपालीलाई नाइट लाइफमा अभ्यस्त गराइरहेका छन्। देश/विदेशका आधुनिक जीवनशैलीसँग सोझै नाता जोडिने धरानजस्तो शहर यस मामिलामा अछुतो रहने कुरै भएन। 
५० को दशकपछि नाइट लाइफको खोजी गर्दै डान्स पार्टीको क्रम सुरु भएको धरानमा अहिले महिनामा १५ वटासम्म डान्सपार्टी हुन्छन्। यस्ता पार्टीमा दिनभर व्यस्त हुने व्यवसायी, बैंक कर्मचारी, डक्टर, नर्स, शिक्षकहरूको उपस्थिति बाक्लिन थालेको छ। पाँच वर्ष अघिसम्म डान्सपार्टीलाई 'विकृति' का रूपमा हेर्नेहरू अहिले 'रिफ्रेसमेन्ट' को नजरले हेर्छन्। 
काठमाडौँमा जस्तो डान्स बार र डिस्को नभए पनि धरानमा भर्खर भर्खर रात्री जीवनलाई रंगीन बनाउन फ्युजन क्लब, ओटु बार खुलेका छन्। धरानमा धेरै दोहोरी साँझ खुल्दै बन्द हुँदै गरे। अहिले रमाइलो दोहोरी साँझले दोहोरी पारखीलाई मध्यरातसम्म रमाउने वातावरण बनाएको छ। क्लब र बारहरूले हप्तामा दुईतीन दिन नियमित रात्री जीवनमा रमाउन चाहनेका लागि खाने, पिउने, गाउने, नाच्ने व्यवस्था मिलाएका छन्। 
पूर्वमा रात्री जीवन संस्कृति बढी भएको ठाउ" धरान हो। त्यसपछि विराटनगर, इटहरी, बिर्तामोड, दमक र तरहरामा समेत विभिन्न अवसरमा रात्री जीवन शैलीमा रमाउनेहरू बढिरहेका छन्। फ्युजन क्लबका निर्देशक ललित राई भन्छन्, 'दिनभरको कामको थकान मेटाउन पनि नाइटमा इन्जोय गर्नेहरू बढिरहेका छन्। बिस्तारै नाइट लाइफ व्यवस्थित पनि बन्दैछ।'


डान्सबारको लगानी

एउटा डान्सबार खोल्न कम्तीमा १५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुन्छ। दोहोरी सँाझ रेस्टुरेन्ट पनि सातदेखि १२ लाख खर्च नगरेसम्म सञ्चालनमा ल्याउन सकिँदैन। नेपाल रात्रीकालीन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष समिर गुरुङका अनुसार उपत्यकामा अहिले दुई सयभन्दा बढी डान्सबारमा करिब ६५ करोड रुपैयाँभन्दा बढी लगानी छ। डेढदेखि दुई करोडसम्म लगानी गरेर खोलिएका डिस्कोथेक छन्। दोहोरी साँझमा पनि करोडौँको लगानी छ। यो व्यवसायले करिब ५० देखि ६० हजार मजदुरलाई रोजगारी दिएको छ। 
तर, नाइट लाइफका बारेमा सरकारको स्पष्ट दृष्टिकोण नहुँदा अहिले व्यवसायी पुर्पुरोमा हात राखेर बस्न बाध्य छन्। 'व्यवसायीसँग तल्लो तहको व्यवहार गरिन्छ,' गुरुङ भन्छन्, 'सरकारको नीति नियमभित्र बसेर व्यवसाय सञ्चालन गर्दा पनि हामीले अहिलेसम्म सुरक्षाको अनुभूति गर्न पाएका छैनौँ।' 
दुई वर्षअघिसम्म एउटा डान्सबारले प्रतिदिन औसतमा २५ हजार रुपैयाँसम्म व्यापार गर्थे। तर, अहिले अवस्था त्यस्तो छैन। कुनै दिन त एक बोतल बियर पनि नबेची बार बन्द गर्नुपर्ने अवस्था रहेको व्यापारीहरू बताउँछन्। रिपोर्टिङका क्रममा मंगलवार डान्सबार डुल्दा अधिकांश बार सुनसान थिए। मासिक खर्च धान्न पनि डान्सबारले महिनाको चार लाख रुपैयाँभन्दा बढी कमाउनुपर्छ। 'तर, अहिले दुई लाख पनि कमाउने अवस्था छैन,' गुरुङ भन्छन्। 
डान्सबार सुक्नुमा प्रशासनले नाइट लाइफमा गरेको कडाइ नै हो भन्ने व्यवसायीहरू एकै स्वरले दुखेसो पोख्छन्। शान्ति सुरक्षाका नाममा सम्साँझै सुत्न उर्दी जारी गर्ने गृहमन्त्री भएको देशमा यस्ता व्यवसाय चलाउन कठिन छ। पर्यटकीय हब ठमेलमा मात्र २४ भन्दा बढी डान्सबार बन्द भइसकेका छन्। महिनौँ भाडा तिर्न नसकेर डान्सबार बन्द गर्नेहरू थुप्रै छन्। 
यही रफ्तारमा यो व्यवसाय ओरालो लाग्ने हो भने कुनै बेला यस्तो अवस्था आउँछ, जति बेला काठमाडौँका डान्सबार, दोहोरी साँझ र डिस्कोथेक गफ गर्ने विषय बन्नेछन्। यो व्यवसाय संकटमा पर्दा यसमा रोजगारी गरिरहेकाहरू सडकम पुग्ने अवस्था आउँछ। 'डान्सबारमा नाच्ने केटीहरू वेश्यावृत्तिमा लाग्नेछन् भने केटाहरू ग्याङस्टरका रूपमा उदाउने छन्,' गुरुङ भन्छन्, 'राजधानीको स्वरूप भयावह हुनेछ।'


प्रशासनको रबैया गलत छ : राम गिरी, सञ्चालक, नशा डान्सबार

डान्सबार चलाउनुभएको कति भयो? 
- छ वर्ष।

बिजनेस कस्तो छ त? 
- पहिलाको भन्दा निकै खस्केको छ। जेनतेन धानिरहेको छु।

व्यापार किन खस्केको त?
- सरकार र प्रहरी प्रशासनको हामीलाई हेर्ने नजर गलत भएकाले। हामीमात्र होइन, राजधानीको नाइट बिजनेस नै डामाडोल छ यतिबेला। रात्रीकालीन व्यवसाय रात नपर्दै बन्द गर्न परेपछि कसरी चल्छ? डान्सरहरू पनि सबै विदेशिन थाले। वेटरलाई नाच्न सिकाएर कति दिन धान्नु।

तपाईँहरूले पनि त गलत गर्नुभयो होला नि। प्रहरी, प्रशासनले यत्तिकै कडाइ गरेको होला र?
- हेर्नुस, सबै रात्रीकालीन व्यवसायीले राम्रो गरेका छन् भन्ने मेरो तर्क होइन। तर, सबै नराम्रा पनि त छैनन् नि। यो त सो बिजनेस हो। सरकारले तोकेको मापदण्ड सबै पूरा गरेर बिजनेस गरेको छु। हामी सबैलाई एकै ठाउँमा राखेर हेर्नुभएन। राम्रो नराम्रो छुट्याएर कारबाही गरे भैहाल्यो नि।

प्रशासनले कसरी दुःख दिन्छ?
- १२ बजेको टाइम तोकेको छ। १२ बज्नु अगाडि नै बन्द गर्न दबाव दिन्छ। कहिले त स्टाफलाई नै समातेर लिएर जान्छ। त्यसो गर्नु भएन।

नाइट बिजनेसलाई प्रमोट गर्न के गर्नुपर्छ?
- पहिला त सुरक्षा दिनुपर्‍यो। त्यसपछि टाइम फ्रेम हटाउनुपर्‍यो। अनुगमन गरेर राम्रो/नराम्रो छुट्याउनु पर्‍यो र बिजनेस गर्ने वातावरण बनाइदिनुपर्‍यो।


नाइट डायरी
मंगलवार। ठमेल चोक। साँझको साढे आठ बजेको छ। चहलपहल भर्खर सुरु हुँदैछ। सञ्चयकोष भवनअगाडि कडा चेकिङ गरिरहेको छ प्रहरी। एक जोडी जापानी पर्यटक प्रहरीलाई घरी घरी अभिवादन गरिरहेको छ। दारुले दुबै मस्तराम। उनीहरू के भन्दै थिए? न प्रहरीले बुझेको थियो, न वरिपरिकाले।
हामी तीन ठिटा। कता जाने? हामी अलमलमा छ"दै एउटा १७/१८ वर्षको केटो हाम्रो छेउमा आयो, 'दाइ सावर डान्स हेर्न जाने हो? नजिकै छ। कुरा मिल्यो भने राती 
केटी लान पनि मिल्छ।' साथी प्रश्न गर्छ, 'रंगीन मात्र कि नंगीन पनि?' केटो कुरो बुझ्दैन। अर्कोले थप्छ, 'नांगो पनि हुन्छ?' केटो मुस्काउँदै भन्छ, 'आफँैले लगेपछि जे गरे पनि भयो नि सर। यतातिर त्यस्तो बन्द भएको वर्षौँ भयो।'

हामीले पाइला मोड्यौँ दरबार मार्गतिर। टार्गेट थियो -हेरिटेज प्लाजास्थित 'फ्युजन डान्सबार'। घडीको सुई साँढे नौमा टिकेकोे छ। सामान्य अवस्थामा यो समय डान्सबारका कर्मचारी आगन्तुकको स्वागतमा व्यस्त हुनुपर्ने हो। तर, डान्सबार खाली थियो। कर्मचारी हाई काढ्दै बसिरहेका थिए। हल्का म्युजिक र सफ्ट लाइटको तालमा एकजना युवती नाचिरहेकी थिई। शरीरको रसविहीन हल्लाई। दर्शक उनकै सहकर्मीमात्र।
त्यसैको छेउको 'गण्डकी दोहोरी साँझ' मा लोकभाकाका गीत चर्को बजिरहेको थियो। 'ल, त्यता चैँ जमे जस्तो छ,' एकजना साथी त्यतैतिर लम्कियो। 'भुतझैँ एक्लै गाएर बसेका पो रहेछन्,' केही क्षणमै फर्किएको साथी भन्दै थियो, 'काठमाडौँको नाइट लाइफ अलमोस्ट फिनिस्ड। इट इज अ गोस्ट सिटी नाओ।'
'अहिले यस्तै हो, सबै रात्रीकालीन व्यवसायीको हालत' रात्रीकालीन व्यवसायी संघका अध्यक्ष तथा फ्युजन डान्सबारका सञ्चालक समिर गुरुङले दिक्दारी मान्दै भने, 'भोलिको आशमा मात्र व्यवसायी टिकेका छन्।'
०००
राति साढे १० वजे। दरबार मार्ग। सडकमा हल्का चहलपहल छ। गाडीहरू हुइँकिरहेका थिए। मेहन्दी डान्सबारभित्र उही दृश्य। बोनी गराउने ग्राहक मात्र देखिए। भवनको भुइँतल्लादेखि माथिल्लो तल्लासम्म छरिएका डिस्को, रेस्टुरेन्ट र डान्सबारमा म्युजिक घन्किरहेको थियो। तर, सुन्ने कोही थिएनन्। बिजनेस र म्युजिकको फ्युजन हुन सकिरहेको थिएन। 
चौथो तल्ला। हिन्दी फिल्मको 'स्लो सङ' बजिरहेको थियो- 'चोरी चोरी, चुपके चुपके'। अगाडि टेबलमा बसेका दुई युवकलाई डान्सको ताल देखेर दिक्क लागेछ। वेटरलाई बोलाएर कम्प्लेन गरिहाले, 'के लेफ्टराइट मात्रै गर्ने डान्सर नचाएको, बरु भजनमा नचाए हुन्छ नि!'

०००
दरबारमार्गको तालले दिक्क लगायो। रातकी रानी त ठमेल पो हो। त्यसमा पनि पहिल्यै सावर डान्सको प्रस्ताव आएको थियो। लाग्यौँ त्यतै। चोकैमा एक हुल तेस्रो लिंगी सडकमा हिँड्नेहरूलाई आफूतिर आकर्षित गर्न विभिन्न हाउभाउ र कटाक्ष गरिरहेका थिए। 'बिग बोस'की लक्ष्मीका साथीहरू।
ठमेल लगभग सुनसान थियो। मौसमझैँ चिसो। म्युजिक बजिरहेको छ। रेस्टुरेन्टहरू खुल्ला छन्। तर ग्राहक छैनन्। राजधानीको मुख्य पर्यटन केन्द्र ११ नबज्दै सुनसान छ।
रात्रीकालीन व्यवसायबारे वार्तालापको क्रममा समीर गुरुङले भनेका थिए, 'ठमेलका प्रायः डान्सबार सुकिसके। एक वर्षदेखि भाडा पनि तिर्न सकेका छैनन्। धन्न नशा र वियरबार चाहिँ चलेका छन्।'
नशा बार। तेस्रो तल्ला। लाउड म्युजिक। यहा" वातावरण अलि फरक थियो। प्रायः सबै टेबल आगन्तुकले भरिएका। वेटर अर्डरअनुसारको खान्की ल्याउन व्यस्त। सबै आगन्तुकको मुहार स्थानीय थियो। पर्यटकका माझ हट स्पट मानिने यहाँ विदेशीको नामनिशान थिएन।
डान्स फ्लोरमा युवतीको प्रवेशसँगै दर्शक छक्क परे। एकजना भन्दै थिए, 'ला दाइ, यसले त सारी लाएर डान्स देखाउने भई।' अर्कोले थप्यो, 'पख्, अर्को डान्सर गुन्यु चोलीमा आउँछे।'
केटी नाचिरहेकी छे। ग्राहक दिक्क मानिरहेका छन्। केटीको नचाइमा भन्दा भित्तामा टाँगिएको डिजिटल डिस्प्लेमा थियो धेरैका आँखा। जहाँ चलिरहेको थियो फेसन टिभीको 'मिडनाइट हट'।

'बल्ल ग्राहक आएका छन्, तर के गर्ने? अब आधा घन्टामै बन्द गरिहाल्नुपर्छ,' नजिकै उभिएका नशा बारका सञ्चालक राम गिरीले भने। घडीमा एघार मात्रै बजेको थियो।
रात ढल्किँदै छ, मात चढ्दै छ। मदिराका सिसी बल्ल रित्तिने तरखरमा छन्। नर्तकीको 'लेफ्टराइट' जारी छ। तर, वेटरहरूले अर्डर लिन बन्द गरेका छन्। ग्राहकहरूको टेबलमा बिल आइपुग्न थालेको छ। 'भर्खर त मुड अन भएको छ, के बिल ल्याएको,' एउटा ठिटो जंगियो। 'दाइ, अब बन्द गरेन भने मुड पुलिसको छिडीमा पुगेर अफ हुन्छ,' वेटरको चतुर उत्तरपछि केटाहरू गोजी टकटक्याएर झोक्किँदै बाहिरिए। 'क्या बोर यार, यसो फ्रेस हुन पनि नपाइने भयो। गाँठ हुनेहरू बैंकक जान्छन्। हामीचैँ यहाँ ठण्डाराम!' एकजना ग्राहकको असन्तुष्टि छताछुल्ल भयो।
चौबिसै घण्टा खुला
मनोज घर्तीमगर- फेसनेबल शहर पोखराको नाइट लाइफ भव्य छ। नयाँ पुस्ता डिस्को, डान्स बार, रक कन्सर्टहरूमा रमाउँछ। हरेक हप्ता हुने डान्सपार्टीमा सबै उमेरका पोखरेलीहरू झुम्मिएका हुन्छन्। केही वर्षयता बढेको नाइट लाइफ कल्चर अरू फराकिलो बन्दैछ। त्यसलाई सहयोग पुर्‍याइरहेको छ, प्रहरी प्रशासनले। साँझ पर्नासाथ पोखराको रात्री जीवनको बिन्दास पारा देखिन सुरु हुन्छ।

झम्के साँझ हुन नपाउँदै डिस्को, डान्सबार, रेस्टुरेन्टहरूमा लाम लाग्ने पोखरेली युवाहरूको एउटै टेन्सन थियो, ‘११ बजेपछि लेकसाइड पूर्णरूपमा बन्द हुनु।' त्यसका लागि दश बजेदेखि नै आआफ्ना घरतिर लाग्न सुरु हुन्थ्यो। लेकसाइडका पर्यटन व्यवसायीको मागले अब यो टेन्सन सधँैका लागि दूर भएको छ। 'अब त लेकसाइड २४ घण्टा खुल्दैछ भन्ने पत्रपत्रिकामा पढेको छु, बल्ल मस्ती गर्न पाइने भो,' नाइट लाइफ बिताउन मन पराउने पोखरा हस्पिटलचोकका बिमल गुरुङ भन्छन््, '१० नबज्दै पुलिसले घर जाऊ भनेर हैरान पार्थ्यो। अब टेन्सन साफ।'
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन पोखराको लेकसाइड क्षेत्र चौबिसै घण्टा खुल्न दिने निर्णय गरेपछि व्यवसायी त खुसी हुने नै भए, उनीहरूभन्दा अधिक खुसी छन् युवाहरू। विदेशी संगीतको तालमा झुम्ने टिनएजरका लागि यो जिन्दगीको ठूलो उपलब्धिभन्दा कम छैन। 
चौबिसै घण्टा लेकसाइड खुल्ने भएपछि पोखराको नाइट लाइफ अब अरू फराकिलो र मस्तीमय हुनेमा शंका छैन। पोखरामा रहेका क्लब प्याराडिसो, बिजिबी क्याफे, एसियाना डिस्को, एम्सड्यान, डबल ओ, उडरक, क्लब टबलगायत डिस्कोहरूमा युवायुवतीले अब कसैको डर नमानी धोको पुग्ने गरी मस्ती गर्न सक्नेछन्।

पोखराको युरोप भनिने पर्यटकीय केन्द्र लेकसाइडलाई चौबिसै घण्टा खोल्न दिने प्रहरी प्रशासनको निर्णयले व्यवसायीहरू खुसी छन्। ‘प्रहरीले लेकसाइड चौबिसै घण्टा खुल्न दिने निर्णय गर्नु एकदमै पोजिटिभ मुभमेन्ट हो,' रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान), पोखराका उपाध्यक्ष गोपी भट्टराई भन्छन्, 'पोखरालाई पर्यटनको दोस्रो राजधानी बनाउने प्रयत्न भइरहेको बेला यो निर्णयले पर्यटन व्यवसायीलाई खुसी तुल्याएको छ। पोखराको नाइट लाइफ व्यवस्थापन गर्न आवश्यक सहयोग गर्न हामी तत्पर छौँ।'
रातको समयमा बढी आपराधिक गतिविधि र होहल्ला हुने भएकाले यसअघि जिल्ला प्रशासन कार्यालयले ११ बजेपछि लेकसाइड पूर्णरूपमा बन्द गराउँदै आएको थियो। तर, यस्ता कुराको उचित व्यवस्थापन गरी लेकसाइडका होटल, रेस्टुरेन्टलाई चौबिसै घण्टा सञ्चालन गर्न दिने योजनामा प्रहरी प्रशासन लागेको छ। पर्यटकीय आकर्षणको केन्द्र लेकसाइडलाई रात्री जीवनमा रम्नेहरूको उचित गन्तव्य बनाउन र पर्यटन वर्षलाई सघाउ पुर्‍याउन लेकसाइडलाई २४ घण्टा खुलाउन पहल गरेको पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी राजेन्द्रसिंह भण्डारीले बताउँछन्। 'घुम्न, रमाउन अनि खर्च गर्न आएका पर्यटकलाई समय सीमा तोकेर रोक्नुहुँदैन,' डिआइजी भण्डारी भन्छन्, 'पर्यटकलाई घुम्न बोलाउने अनि खान पनि नदिई होटल, रेस्टुरेन्ट बन्द गराउनु हुँदैन। हामीले त बरु उनीहरूलाई रमाइलो नाइट लाइफ दिनुपर्छ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..