दलहरूले छुटाए' अवैध’ काठ

सिन्धुली, मंसिर १३ - 
प्रहरीले 'अवैध' भन्दै नियन्त्रणमा लिएको खयरका काठ चेकजाँचसमेत गर्न नदिई माओवादी, कांग्रेस र एमाले मिलेर छुटाएका छन् ।
खुर्कोटमा घाटगद्दी भएर बीपी राजमार्ग हुँदै सिरहाको मिर्चैया निकासी हुन लागेको खयरलाई 'अवैध' भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सदरमुकाममा दुई दिनसम्म रहेको खयर लोड गरिएका ट्रकहरू माओवादी जिल्ला सहइन्चार्ज राजन दाहाल, कांग्रेस सभापति मोहन बराल र एमाले सचिव प्रल्हाद पोखरेलको रोहबरमा सोमबार साँझ निकासी भएको हो । प्रहरीले नियन्त्रणमा लिए पनि दलहरूले चेकजाँच नै नगरी छाड्न लगाएका हुन् ।
जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै पत्र वन कार्यालयलाई लेखी नापजाँच गरी प्रतिवेदन पेस गर्न भनेका थिए । निमित्त जिल्ला वन अधिकृत वासुदेव झाका अनुसार अनलोड गरेर खयर चेकजाँचका लागि पत्र आए पनि रकम अभावमा दलको रोहबरमा छाडिएको हो ।
'प्रशासनले लेखेको पत्रमा चेकजाँच गरी प्रतिवेदन पेस गर्ने भनेको तर प्रहरीको पत्रमा टाँचा नलागेको भन्ने स्पष्ट लेखिएको थियो', उनले भने, 'अनलोड गरेर चेकजाँच गर्ने हामीसँग रकम थिएन, व्यवसायीले टाउको खाए, त्यही भएर दलको रोहबरमा सबै ठीक भएको प्रतिवेदन दियौं ।'
पाँचवटा ट्रकमा लोड भएको खयरका काठलाई ठूला तीन दलले वैध छ भनेर सहीछाप गरेका छन् । 'कानुनी प्रक्रिया सबै पूरा भएको रहेछ, त्यही भएर रोहबरमा बसियो,' माओवादीका सहइन्चार्ज दाहालले भने, 'दलहरू बस्नैपर्ने प्रावधान त छैन 
तर अपर्झटमा परियो ।' उनले वन प्राविधिकले चेकजाँच गरेकाले आफू विश्वासमा परेको जनाए । 
कांग्रेस सभापति बरालले अरू दुई दल माओवादी र एमालेले सहीछाप गरिसकेकाले आफूले पनि गरेको बताए । 'चेकजाँच स्थलमा म नगए पनि रोहबरका कारण खयर निकासी रोक्का भएको गुनासो व्यवसायीले गरेपछि के गर्नु ?,' उनले  भने, 'सबै जाती भएपछि कांग्रेस छुच्चो हुने कुरा भएन ।'
एमाले सचिव पोखरेलले वन प्राविधिकहरूले सहीसलामत छ भनेकाले आफू रोहबरमा बसेको बताए । केही टुटे/फुटेकाले टाँचा नदेखिए पनि अरू सबै राम्रो वैधानिक भएको उनको भनाइ छ । रामेछापको रामपुरको सिद्धठाकुर र वसन्त सामुदायिक वन उपभोक्ता समितिमा 
कटान भएको खयर मध्यपहाडी राजमार्ग हुँदै खुर्कोटमा ल्याएर घाटगद्दी गरिएको थियो । खयरको परिमाण २ जार ५ सय ५७ क्युफिट छ ।अवैध कटान भएको भन्दै मुद्दा परेको खयर चेकजाँच गर्न पनि वन कार्यालयका निमित्त प्रमुख झा गएका थिए । जिल्ला वन कार्यालयको रोहबरमा नै खुर्कोटमा सिलबन्दी गरिएकाले अवैध नभएको निमित्त प्रमुख झाको तर्क छ । भोली उजुरबाजुर नहोस् भनेर राजनीतिक दलहरूलाई समेत वैध हो भनेर सहीछाप गर्न लगाएको उनको भनाइ छ । 
चेकजाँच नै नगरी वन प्राविधिकले वैध भनेर प्रतिवेदन दिएको र त्यहीअनुसार निकासी भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । 'चेकजाँच गर्ने अधिकार वनलाई छ,' उनले भने, 'त्यही निकायकाले वैध छ भनेपछि के गर्ने 
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..