एसिसी ट्वान्टीमा अफगानिस्तानको ह्याट्रिक

काठमाडौं, मङ्सिर २६ (नागरिक)- अफगानिस्तानले एसिसी ट्वान्टी-२० कप क्रिकेटमा ह्याट्रिक गरेको छ। आइतबार तेस्रो संस्करणको फाइनलमा अफगानिस्तानले हङकङलाई ८ रनले पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो।
  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान १९.५ ओभरमा १ सय २५ रनमा सीमित भयो। हङकङ १९.२ ओभरमा १ सय १७ रनमै समेटिएको थियो।
सन् २००७ कुवेतमा भएको पहिलो संस्करणमा 'टाइ' भएपछि ओमानसँगै संयुक्त विजेता बनेको अफगानिस्तानले २००९ मा युएईमा घरेलु टोलीलाई फाइनलमा पराजित गरेको थियो। अफगानिस्तानका प्रशिक्षक दवलत अहमादजीले हङकङले फाइनलमा निकै राम्रो चुनौती दिएको बताए। 'हामीले उपाधि रक्षा गरेका छौं, त्यसैले आज हाम्रा लागि ठूलो दिन हो।'
१ सय २६ रन लक्ष्य पाएको हङकङलाई अन्तिम दुई ओभरमा विजयनिम्ति १४ रन आवश्यक थियो। हमिद हसनले १९औं ओभरको पहिलो बलमै बाबर हायतलाई ७ रनमा बोल्ड गरे। अर्को बलमा निजाकात खान ७ रनमा रनआउट भए। तेस्रो बलमा हसनले किन्चेन शाहलाई खाता खोल्नु अगाडि बोल्ड गरे। सोही ओभरका कारण म्यान अफ द फाइनल बनेका हसनले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। उनले प्रतियोगितामा दुई चौका मात्र खर्चे। १५ ओभरमा ७ विकेट लिनेक्रममा २.१३ को इकोनोमी बलिङ गरेका हसनको बलमा पहिलो चौका सेमिफाइनलमा नेपालका प्रदीप ऐरीले प्रहार गरेका थिए। 
हसनका ओपनिङ जोडी दवलत जद्रानले २ विकेट लिए। हङकङबाट सर्वाधिक ३५ रन बनाएका कप्तान जेम्स एटकिन्सनलाई आउट गरी जद्रानले अफगानिस्तानलाई खेलमा फर्काए। ४६ बल खेल्दै ६ चौका प्रहार गरेका एटकिन्सनले वाकास बाराकात (२२) सँग दोस्रो विकेटमा ६ ओभरमा ४८ रन जोडे। अफगानिस्तानका उपकप्तान मोहम्मद नाबीले २ विकेट लिए। उनले प्रतियोगितामा सबैभन्दा बढी १३ विकेट लिए।

हङकङका विशेष ब्याटिङ प्रशिक्षक लोउ भिन्सेन्टले प्रतियोगिताबाट आफ्नो टोलीले धेरै सिकेको बताए। न्युजिल्यान्डका पूर्वटेस्ट खेलाडी उनले भने, 'हामीले फाइनलमा राम्रो ब्याटिङ गरेनौं। नेपालमा ठूलो संख्यामा दर्शक आउने हुँदा यहाँ आएर खेल्दा रमाइलो लाग्यो। हङकङमा थोरै दर्शकअगाडि खेल्नुपर्छ।'
नाबीले गुलबोदिन नैबसँग मिलेर छैटौं विकेटमा ४२ रनको साझेदारी गरेपछि अफगानिस्तानलाई चुनौतीपूर्ण स्कोरमा उभ्याए। २४ रनमा ४ र ७३ रन बनाउँदा ५ विकेट गुमाइसकेको अवस्थामा अफगानिस्तानको इनिङ सम्हालेका नैबले ५ छक्का र २ चौकासहित ५० बलमा ५७ रन बनाए। नाबीले १६ बलमा १ चौका र २ छक्का हान्दै २४ रन बनाए।
हङकङका मुनिर दारले ५ विकेट लिए। इनिङको अन्तिम ओभरमा ३ विकेट लिएका उनले कुल ३.५ ओभरमा २३ रन खर्चे। त्यस्तै नदिम अहमदले २ तथा इरफान अहमद र एजाज खानले १-१ विकेट लिए। कुवेतसँग समूह चरणको अन्तिम खेल र ओमानसँगको सेमिफाइनलमा म्यान अफ द म्याच घोषित दार म्यान अफ द सिरिजमा चुनिए। उनले २ सय २ रन बनाउनुका साथै ११ विकेट लिए।
विजयी खेलाडीलाई एसियाली क्रिकेट परिषद् (एसिसी) का प्रमुख कार्यकारी असरफुल हक, एसिसी प्रतियोगिता निर्देशक सुल्तान राणा, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङ, क्यान उपाध्यक्ष एवम् प्रतियोगिताका निर्देशक तारिणीविक्रम शाहलगायतले पुरस्कृत गरे
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..