कतारमा १.२० लाख नेपाली कामदारको माग


दिनेश रेग्मी

दोहा (कतार), अषाढ ८ – सन् २०२२ को फिफा विश्वकपको आयोजक राष्ट्र कतारमा आक्रमक रूपमा पूर्वाधार निर्माणका काम हुन थालेपछि नेपाली कामदारको माग पनि अत्यधिक बढेको छ । यहाँस्थित श्रम मन्त्रालयका अनुसार आउँदो ६ महिनाका लागि १ लाख २१ हजारको भिसा स्वीकृत भएको छ । कतारमा हाल ३ लाख ८ हजार २ सय ४९ नेपाली कार्यरत छन् ।
श्रम मन्त्रालय र नेपाली दूतावासका अधिकारीबीच सोमबार भएको भेटवार्ता पछि थप कामदारको माग बढ्ने संकेत देखिएको छ । नेपाली राजदूत सूर्यनाथ मिश्रले कतारका सामाजिक मामिला मन्त्री तथा निमित्त श्रममन्त्री नासेर अब्दुल्ला सालेह अल हेमिदीसँग मन्त्रालयमै श्रम मामिलालगायत विषयमा भेटवार्ता गरेका थिए ।
मन्त्री हेमिदीले १ लाख २० हजार ९ सय ४४ भिसा स्वीकृत भएको जानकारी दिएका हुन् ।
यसमध्ये ३० हजार ७ सय कामदारको भिसा अध्यागमनबाट निस्किसकेकाले कामदार आउने प्रक्रियामा रहेको उनले जनाएका छन् । यसैगरी ९० हजार २ सय ४४ कामदारको भिसा श्रम विभागबाट स्वीकृत भई अध्यागमनबाट निस्कन बाँकी रहेको छ । भिसा निस्केको ६ महिनाभित्र कामदार कतार छिरिसक्नु पर्नेछ ।
विभिन्न कम्पनीले ५९ हजार २ सय ४४ नेपाली कामदार माग गर्दै श्रम विभागमा निवेदन दिएको समेत हेमिदीले मिश्रलाई बताएका थिए ।
‘नेपाली कामदारको मेहनतलाई अन्यन्त मन पराएका छौं,’ मन्त्री हेमिदीको भनाइ उद्धृत गर्दै मिश्रले भने, ‘उनीहरूको कामबाट सन्तुष्ट छौं ।’
भेटमा कामदारको पूर्णकालीन बिमा, कामदारलाई नेपाली स्वास्थ्यकर्मी र कानुनले प्रदान गरकको अधिकार पाउन भइरहेको व्यावहारिक कठिनाइबारे समेत कुरा भएको मिश्रले बताए ।
हेमिदीले कामदारको हक पाउन समस्या भए जानकारी गराउन आग्रह गर्दै समाधानको पहल गर्ने बताएका थिए । मन्त्रालयमा कामदारका गुनासा सुन्न हट लाइन टेलिफोनको व्यवस्था गरेको हेमिदीले जानकारी दिएका थिए ।
पूर्णकालीन बिमा र नेपाली कामदार बढी भएको ठाउँमा नेपाली स्वास्थ्यकर्मी राख्नेबारे हेमिदीले इदपछि कम्पनी सञ्चालकसँग कुरा गर्ने जानकारी दिएका छन् । वर्षमा करिब २ सय नेपालीको कतारमा मृत्यु हुने गरेको छ । क्याम्पमा निधन भएकालाई बिमाले समेटेको छैन ।
कतारी कानुनअनुसार ५ देखि २५ कामदार भएको क्याम्पमा प्राथमिक उपचार बाकस (फस्ट एड बक्स), १ सय कामदार भएको क्याम्पमा पूर्णकालीन एक नर्स र ५ सयभन्दा बढी कामदार भएको कम्पनीले एक/एक जना डाक्टर र नर्स राख्नुपर्ने प्रावधान छ ।
इरान पनि नेपाली कामदारमा इच्छुक
नेपालीको क्षमता र इमानदारिता देखेर इरानले पनि इच्छा देखाएको छ । कतारका लागि इरानी राजदूतले नेपाली राजदूतसँग यस्तो चाहना व्यक्त गरेका हुन् ।
हालै कतारबाट १२ देशका राजदूतलाई इरानको फार्स प्रान्तको भ्रमण गराएका बेला इरानी राजदूत अब्दुल्ला सोह्रबीले नेपाली कामदारप्रति रुचि देखाएका थिए । सोह्रबीले नेपाल इच्छुक भए यसबारे सम्झौता गर्ने बताएका थिए । उनले कृषि, फलफूल तथा पशुपालनमा कामदारको माग रहेको बताएका थिए ।

Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..