दुई महिनापछि कोरिया जान पाउने

काठमाडौं, पुस १४ (नागरिक)- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत यो वर्ष भाषा परीक्षा उर्त्तीण भएका नेपाली दुई महिनापछि कोरिया जान पाउने भएका छन्। इपिएस नेपाल कार्यालयका संयोजक महेश आचार्यले उर्त्तीण भएका सबैको रोस्टर तयार पारिसकेको जानकारी दिए।
उनका अनुसार १५ हजार ७९ जना रोस्टरमा छानिएका छन्। 'स्वास्थ्य परीक्षण गरिसकेको कामदारको नामावली कोरियाको मानव संशाधन कार्यालयमा पठाइसकेका छांै,' आचार्यले बुधबार नागरिकसँग् भने, 'जनवरी १५ पछि श्रम सम्झौता आउने छ।' योग्यता परीक्षण (स्किल टेस्ट)मा सहभागी भएकाहरु पहिला कोरिया जान पाउने छन्। भाषा परीक्षामा शतप्रतिशत अंक ल्याउने कामदारले स्किल टेस्टमा सहभागी हुन पाउने प्रावधान कोरियाले पहिलोपटक राखेको थियो। भाषा परीक्षामा शतप्रतिशत अंक ल्याउने परीक्षार्थी २ हजार ६ सय थिए। 

'स्किल टेस्टमा सहभागी भएकालाई पहिलो प्राथमिकता दिइने छ,' उनले भने, 'त्यसपछि बिस्तारै कामदार कोरिया जानसक्ने छन्।' यो वर्ष छानिएका कामदार एक वर्षभित्रै जानसक्ने अवस्था भने छैन। एकै वर्षमा धेरै जना जान पाउने सम्भावना नभएको उनले जानकारी दिए। 
सुरुवातमा ७ हजार १ सय कामदार लिने घोषणा गरेको कोरियाले नेपाली कामदारको कामको प्रसंशा गर्दै दोब्बर लैजाने निर्णय गरेको थियो। 
सरकारले पठाउने र थोरै लगानी गरेर जान पाइने भएकाले कोरिया नेपाली युवाका लागि सबैभन्दा आर्कषक रोजगार गन्तव्य भएको हो। खाडी मुलुक र मलेसियामा ८ हजार रुपैयाँको तलब लिन ७० हजार रुपैयाँभन्दा बढी लगानी गर्नुपर्छ। कोरिया जान यही लगानीले महिनाको कम्तीमा ७० हजार रुपैयाँ तलब पाइन्छ। कोरिया जान यो वर्ष ५० हजार ४३ जना भाषा परीक्षामा सहभागी भएका थिए। 
नेपाल र कोरियाबीच सन् २००७ जुलाई २३ मा श्रम सम्झौता भएपछि रोजगार अनुमति प्रणालीअनुसार कामदार पठाउन सहमति भएको थियो । नेपालले २००८ अगस्ट ११ देखि कोरियामा कामदार पठाउन थालेको हो। अहिलेसम्म ८ हजार ८ सय ७ जना कोरिया गइसकेका छन्। 
निजी क्षेत्रका म्यानपावर कम्पनी लुम्बिनी ओभरसिज र मुनड्रप्सले बढी रकम लिएपछि कोरियाले इपिएसबाट कामदार लिन थालेको हो। त्यो बेलामा यी दुई म्यानपावर कम्पनीले पाँच लाखसम्म कामदारबाट उठाएका थिए। 
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..