मलेसियामा रोजगारीका ११ क्षेत्र खुला

मलेसियाले हाल जारी आममाफी कार्यक्रमअन्तर्गत वैधता प्रक्रियामा सामेल आप्रवासी कामदारलाई सुरक्षा क्षेत्रसहित ११ क्षेत्रमा रोजगारी खुला गरेको छ ।   नेपालीका लागि सुरक्षा गार्ड निकै आकर्षक मानिन्छ । मलेसियाले विदेशी कामदारमध्ये नेपालीलाई मात्रै सुरक्षागार्डमा लिँदै आएको छ ।  मलेसियाली गृह मन्त्रालयले बढीमा प्रतिकम्पनीलाई ७० जनासम्म सुरक्षागार्ड राख्न पाउने गरी अनुमति दिएको आफ््नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ ।  

यहाँस्थित नेपाली राजदूत ऋषिराज अधिकारीले निर्णय सकारात्मक भएको बताए । 'तर हामी यसबारे औपचारिक पत्रको पर्खाइमा छौं,' उनले भने । उनले केही दिनभित्रै यसैबारे गृहमन्त्रीसँग थप छलफल हुनेसमेत बताए । मलेसियाले गरेको यो निर्णय यहाँ वैधता कार्यक्रममा सहभागी भएकालाई मात्रै लागू हुने पनि राजदूत अधिकारीले स्पष्ट पारे । मलेसियाले नेपालबाट नयाँ कामदार लिने विषयमा भने कुनै निर्णय गरेको छैन । वैधता कार्यक्रम सकिएपछि मात्रै त्यसबारे निर्णय हुने सकारात्मक संकेत भने यसअघि नै मलेसियाले दिइसकेको छ । करिब १० हजार नेपालीलाई सुरक्षा गार्डमा राखिने निर्णय भइसकेको स्थानीय एजेन्सी तथा रोजगार व्यवसायीको दाबी छ । मलेसिया सरकारले 'विशेष एप्रुभल' अन्तर्गत उक्त संख्यामा मान्यता दिएका ती एजेन्सीहरूको तर्क छ । सख्याबारे खासै औपचारिक जानकारी सार्वजनिक भएको छैन ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..