देवदहमा 'बुद्धकालीन' अवशेष भेटिए

देवदह क्षेत्रमा ठूलो मात्रामा बुद्धकालीन अवशेष भेटिएका छन् । लुम्बिनी विकास कोष र पुरातत्त्व विभागद्वारा गरिएको उत्खननमा प्राचीन इनार, दरबार, शिलालेख, बुद्धताराको मूर्ति, मातृकाको मूर्ति, मखुण्डो, महिलाको अर्धकट्टी मूर्तिलगायत भेटिएका हुन् । 

बौद्ध ग्रन्थमा वुद्धकी आमाले नुहाउन प्रयोग गर्ने गरेको इनारसँग भेटिएको इनार मिल्न गएको उत्खननमा संलग्नले बताएका छन् । इनारको झन्डै एक मिटर चौडा गाह्रो र २ सय ८० सेन्टिमिटर डायमिटर छ । ठूला-ठूला रूखमुनि तीन मिटर गहिराइसम्म गरिएको उत्खननबाट दोस्रो तहमा दरबार, दरबारभित्र खोपी, पूजा कोठा, स्नानस्थानलगायत भेटिएका छन् । गत वर्षदेखि थालिएको उत्खननमा यसअघि बुद्धको अर्धकदको मूर्ति, माटाका भाँडा, ढुंगाका मूर्ति, तामाका औंठीलगायत फेला परेका थिए । 

देवदह क्षेत्रका एक दर्जन बढी स्थानमध्ये उत्खनन गरिएको पहिलो स्थानमै बुद्धकालीन अवशेषहरू फेला परेपछि यसलाई बुद्ध मावलीका रूपमा प्रमाणित गर्न र थप प्रमाण खोज्न बलियो आधार बनेको पुरातत्त्वविद् तथा पुरातत्त्व विभागका अधिकृत प्रकाश दर्नालले बताए । 'भेटिएका वस्तु कति वर्ष पुराना हुन् भन्ने अध्ययन गरी यसबाट पनि बुद्ध मावली पहिचानमा धेरै प्रमाण जुट्नेछन्,' उनले भने, 'नेवारीमा लेखिएको शिला लेखको लिपि अध्ययनपछि पनि केही खुल्ने छ ।' फेला परेका पुरातात्त्विक वस्तुको सामान्य अवलोकनबाट पनि गुप्तकाल अघिका संरचना रहेको पुष्टि गर्न सकिने पुरातत्त्व अधिकृत दर्नालले बताए । 

उत्खनन गर्न अझै बाँकी नै रहेको र अनुसन्धानसमेत बाँकी रहेकाले थप प्रमाणहरू भेटिनेमा उत्खननविद्हरू आशावादी छन् । उत्खननमा भेटिएका वस्तुहरू लामो समय लगाएर अध्ययन गरेपछि मात्र प्रमाणित गर्न सकिने भन्दै बलियो प्रमाण जुटाउन लुम्बिनी विकाष कोषले गत वर्ष भेट्टाएका पुरातात्त्विक वस्तुहरू अध्ययनका लागि लुम्बिनी लगेको छ । अहिले भेटिएका वस्तुहरू पनि लुम्बिनी लगेरै पुरातत्त्वविदहरूबाट अध्ययन गराउने कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए । 'अध्ययन पूरा भएपछि भने संग्रहालय नै बनाई ती वस्तु भेटिएकै स्थान देवदहमा राखिनेछ र सर्वसाधारणका लागि खुला गरिनेछ ।' उनले भने । 

पुरातत्त्व विभागका अनुसार झन्डै सय वर्षअघि नै देवदह क्षेत्र पहिचान भए पनि उत्खनन् नहँुदा निश्चित क्षेत्र छुट्याउन सकिएको छैन । धेरै ऐतिहासिक मूर्त्र्िा र वस्तु चोरिएका छन् । बुद्ध परिक्रमा क्षेत्रको विकासका लागि धेरै योजना बनाए पनि सरकारको दूरदृष्टि नपुग्दा ओझेलमा परेको देवदह अर्थात् गौतम बुद्धको मावली गाउँको संरक्षणका लागि ढिलै भए पनि उत्खनन सुरु भएकोमा स्थानीय खुसी छन् ।

'पुरातात्त्विक क्षेत्रलाई लोप हुनबाट बचाउन अतिक्रमणमा परेका र लोप हुन लागेका सबै क्षेत्रको उत्खनन होस् । भेटिएका वस्तु अवलोकनका लागि यही राखियोस्' कन्यामाई जनकल्याण क्लबका अध्यक्ष रामप्रसाद अधिकारीले भने 'विकास र संरक्षणका लागि स्थानीय लाग्छौं ।' 

बुद्धसम्बन्धी धेरै इतिहास पत्ता लगाउन भन्दै पछिल्लो समयमा श्रीलंका, कोरिया, चीनलगायतका देशका दाताहरू देवदहको विकासका लागि योजना लिएर आएका छन् । तर उत्खनन नगरी पूर्वाधार विकासका काम गर्न नपाएपछि उनीहरू त्यत्तिकै र्फकने गरेका छन् । 'ढिलै भए पनि लुम्बिनी विकास कोषले उत्खननमा चासो देखाएको छ । अब कोषसँगै सहकार्य गरेर विकास र संरक्षणमा लाग्छौं,' बैरीमाई कन्यामाई संरक्षण समितिकि अध्यक्ष मनकुमारी काफ्लेले भनिन् ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..