बलिउड धुम काठमाडौँमा


काठमाडौं, मङ्सिर २५ (नागरिक) - बलिउडका कलाकारहरुले शनिबार साँझ नेपाली दर्शकलाई मनोरञ्जन गराएका छन्। जावलाखेलको फुटबल मैदानमा आयोजित 'बलिउड धुम'मा गायक, गायिका र हास्य कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए।
जाडोले काँप्दै स्टेजमा देखा परेका हास्य कलाकार राजु श्रीबास्तव हसाएरै दर्शकलाई तताउन सफल भए। शुरुमै कवाली, पप र गजल गायकको उछितो काडे उनले। रावणबाट शुरु भएको उनको व्यङ्ग्य प्रहारले अमिताभ बच्चन, शशी कुपर, शाहरुख खान, अनिल कपुर हुँदै लालु यादवलाई समेत छोडेन। 'कमेडी सुन्दा खुलेर सुन्नुपर्छ' भन्दै हसाउन कस्सिएका राजुले दर्शकको अनुरोधमा समेत कमेडीको स्वाद पस्किए। उनले बलिउड कलाकारको क्यारिकेचर गर्दा हाँसोले मैदान गुञ्जिएको थियो।
जब मञ्चमा गायिका ममता शर्मा झुल्किइन् 'मुन्नी बदनाम'को अफर सुरु भयो। 'गाएङ्गे डार्लिङ' भन्दै उनले 'जोरका धक्का', 'कोलावरी डी', 'ओलाला ओलाला'लगायतका गीत सुनाएपछि मात्र प्रतिक्षित 'मुन्नी बदनाम'मा प्रवेस गरिन्।
'म मनिषाजी माथि बनेको गीत पहिला सुनाउँछु। मनिषा र यो गीत मेरोलागि लक्की बन्यो,' यति भूमिका सुनाएपछि गायिका सपना अवस्थीले गाइन् 'दुस्मनी'को गीत 'बन्नो तेरी अखियाँ'। यसपछि उनले गाइन् आफ्नो लोकप्रिय गीत 'परदेशी परदेशी जाना नहीं'। 'कभी बन्दन छुडा लिया', 'छैयाँ छैयाँ' लगायतका गीतबाट उनले दर्शकको साथ निकै पाइन्।
इन्डियन आइडल सन्दिप आचार्यले आफ्नो र अन्य गायकका चर्चित गीत सुनाएर दर्शक तान्न खोजे। आफ्नो प्रस्तुति सकाएर फुर्सदमा रहेका नेपाली हास्यकलाकारहरु बलिउडका कलाकारको प्रस्तुतिमा रमाएका थिए। केही क्षण अघि स्टेज तताउने प्रयास गरेका शिवहरि पौडेल, किरण केसी, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले मन थाम्न सकेनन्। 'अब त हामी पनि दर्शक' भन्दै सिटी फुक्नेदेखि कम्मर मर्काउन समेत उनीहरु चुकेनन्। बलिउडका कलाकारको प्रस्तुति अघि नेपाली कलाकारको कार्यक्रम थियो। त्यसलाई मनोज गजुरेल सञ्चालन गरेका थिए। शैलेन्द्र सिम्खडालगायतका मेरी बास्सै र जिरे खुर्सानीका नेपाली कलाकारको प्रस्तुति समसामयिक राजनीतिमा केन्द्रित थियो। (तस्बिरहरुः विजय राई)
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..