चियाबारीमा वाइफाई इन्टरनेट

रोशन साँवा, इलाम, मङ्सिर १३- इलाम नगरपालिकाको कार्यालयले बजारनजिकैको चिया वगानमा निशुल्क वायरलेस इन्टरनेट सुविधाको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको छ।
नगरपलिकाको कार्यालयले स्थानीय युवा र घुम्न आउने पर्यटकलाई लक्षित गरेर चिया बगानलाई 'नेट जोन' बनाउन लागेको जनाएको छ। उसले एक महिनाभित्रमा निःशुल्क इन्टरनेट सुविधा सुरु हुने पनि जनाएको छ। 'चियाबगानलाई दुर्व्यसनको अखडा नबनाऊन् भनेर युवाहरुलाई अमल्याउन तथा बाह्य क्षेत्रबाट ल्यापटप बोकेर आउनेले पनि चियाबगानको सुन्दरता रम्दै इन्टरनेट चलाउन पाऊन् भनेर नेट जोन बनाउन लागेका हौं,' नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले भने, 'यसले इलामको पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्छ भन्ने हाम्रो विश्वास छ।'
नगरपालिकाले बगानभित्र पर्ने लभडाँडा र मालकुवानजिकैको डाँडामा इन्टरनेटको राउटर राख्ने जनाएको छ। 'भरसक बगानको सबै क्षेत्रमा इन्टरनेट सुविधा उपभोग गर्न पाइयोस् भनेर बढी क्षमताको राउटर राख्ने तयारी गरेका छौं,' नगरपालिकाका प्राविधिक मिलन मुखियाले भने। तर, उपभोक्ताले इन्टरनेटमा ब्राउज गर्नमात्र पाउनेछन्, डाउनलोडको सुविधा हुने छैन। नगरपालिकाले अश्लील खालका साइटहरु पनि बन्द गरिदिने जनाएको छ।
नगरपालिकाले बगान क्षेत्रमा घुम्न र टहलिन आउने मानिसहरुको संख्या बढेपछि इन्टरनेट सुविधाको पनि व्यवस्था गर्न लागेको हो। नगरपालिकाले टहरा, पोखरी, रेलिङसहितको सिंढी बनाइदिएपछि बगान क्षेत्रमा चहलपहल बढेको छ। नगरपालिकाले चिया बगानको माथिल्लो भेगमा भ्युटावर पनि निर्माण गरिरहेको छ।
नगरपालिकाले बसपार्कदेखि क्याम्पस रोडसम्म बगैचासहितको बाटो ३६ लाख रुपैयाँमा र जनभवनदेखि भ्युटावरसम्मको रेलिङसहितको तीन सय ४५ मिटर लामो बाटो ३७ लाख चार हजार आठ सय ५८ रुपैयाँको लागतमा भर्खरै निर्माण गरिदिएको छ। बगान क्षेत्रमै पर्ने रानीपोखरी नौ लाख र मालकुवा १५ लाख रुपैयाँको लागतमा निर्माण भएको छ।
८० लाख ७० हजार रुपैयाँको लागत अनुमान गरिएको भ्युटावरको निर्माण कार्य अन्तिम चरणमा छ। 'संरचना परिवर्तन गर्नुपर्ने भएकाले भ्यूटावरको निर्माणमा केही ढिलाई भएको हो,' नगरपालिकाका प्राविधिक मेघनाथ ढुङ्गानाले भने।
यही चिया बगानमा रहेको ऐतिहासिक चिया कारखाना पनि ११ वर्षपछि आउँदो चैतदेखि सञ्चालन हुने भएको छ। नेपाल चिया विकास निगम त्रिवेणी (सांघाई) समूहलाई भाडामा दिनासाथ २०५७ सालदेखि बन्द भएको थियो। वि.सं. १९३५ देखि प्रशोधन थालेको यो नेपालकै सबभन्दा पुरानो कारखाना हो।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..