कांग्रेसमा किचलो

काठमाडौं, माघ १८  कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय नेताहरूले पार्टीको आन्तरिक विवाद मिलाउन प्याकेजमा सहमति हुनुपर्ने निष्कर्ष निकालेका छन्।
मंगलबार देउवा निवास बुढानिलकण्ठमा बसेको उनी पक्षीय केन्द्रीय सदस्यको भेलाले विघटित भातृसंस्था, पार्टीका गठन हुन बाँकी विभाग, समिति र मनोनीत हुन बाँकी केन्द्रीय सदस्य सबैलाई समग्रमा सहमति गर्न पार्टी सभापति तयार नभएसम्म पूर्वअडानमै अडिग रहने ठहर गरेको छ।
बैठकको सुरुमा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र मिनेन्द्र रिजालले विवाद मिलाउने विषयमा सभापति कोइरालासँग भएको छलफलको जानकारी गराएका थिए। उनीहरूले समग्र सहमतिका पक्षमा कोइराला तयार नभएको ब्रिफिङ भेलामा गरेका थिए। भेलामा सहभागी देउवा पक्षीय केन्द्रीय सदस्यले पार्टीको आन्तरिक विवाद कसरी मिलाउने भन्ने विषयमा बोल्ने क्रम जारी छ। भेला बुधबार पनि पुनः बसी भावी रणनीति तयार गरिने बताइएको छ। 'छलफल जारी छ, पार्टीको आन्तरिक विवाद कसरी मिलाउने भन्ने विषयमा सबैले धारणा राख्ने क्रम सुरु भएको छ,' भेलामा सहभागी केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले नागरिकसँग भने, 'कसरी अघि बढ्ने भन्ने विषयमा भोलि (बुधबार) को भेलाले रणनीति तय गर्छ।'
भेलामा झण्डै तीन दर्जन केन्द्रीय सदस्य सहभागी थिए।
समग्र सहमतिका पक्षमा कोइराला तयार नभए फागुन ३ गते पचहत्तरै जिल्ला सभापतिको भेला गर्ने निर्णय यसअघि देउवा पक्षीय नेताको भेलाले गरेको थियो। देउवाले फेरि पनि उधारो सहमति गर्ने पक्षमा आफू नभएको उल्लेख गर्दै पार्टीलाई सहमतिका आधारमा अघि बढाउने मुख्य दायित्व सभापतिको भएको धारणा राखेका थिए। कांग्रेसमा भातृसंस्था विघटनको विरोध गर्दै देउवाले केन्द्रीय सदस्यबाट राजिनामा गरेपछि विवाद चुलिँदै गएको छ। सभापति कोइराला निर्वाचित भएको डेढ वर्षसम्म पनि केन्द्रीय विभाग, समिति र सदस्यको मनोनयन भएको छैन। भातृसंस्था विघटनको निर्णय फिर्ता लिनुपर्ने माग राख्दै देउवा पक्षीय केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएका छन्। देउवा पक्षीय नेताले बैठक बहिष्कार गरेपछि दसैंपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन। एक साताअघि राज्य पुनर्संरचना र राज्यको शासकीय स्वरूपका विषयमा छलफल गर्न केन्द्रीय समितिको मात्रै बैठक बोलाउँदा देउवा पक्षीय सदस्यले बहिष्कार गर्ने भएपछि सभासद र केन्द्रीय समितिको संयुक्त बैठक बोलाइएको थियो
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..