रामचन्द्र भट्ट, काठमाडौं, माघ २० - कम्प्युटरमा काम गर्दागर्दै अंग्रेजी शब्दको अर्थ नेपालीमा नजानेर हैरान हुनुपरेको छ? या कुनै नेपाली शब्दलाई अंग्रेजीमा अनुवाद गर्न कठिन भएको छ? अंग्रेजी जान्दै नजान्ने वा सामान्यमात्र जान्नेलाई समेत सहयोगी 'गुगल ट्रान्सलेटर' अब नेपालीमा पनि तयार हुँदैछ। संसारका धेरै देशमा सबैभन्दा बढी बोलिने भाषालाई कम्प्युटरमै अनुवाद गर्ने प्रविधि बनाइसकेको गुगल ट्रान्सलेटरले अहिले नेपाली भाषामा अनुवाद सुरु गरेको छ। केही दिनअघि नेपाल आएका गुगलका प्रतिनिधि डिभोन ल्यानले अनुवादमा सहयोग गर्न आग्रह गरेका थिए।
उदीयमान देश हेर्दै आएका बिजनेस मेनेजर डिभोनले नेपालमा गुगलको अनुवादक सेवा सुरु गर्न इन्टरनेट सोसाइटी, नेपाल टेलिकम, नेपाली विकिपिडिया, खुला तथा स्वतन्त्र सफ्टवेयर समाज, मदन पुरस्कार पुस्तकालय लगायतसँग छलफल गरेका थिए। उनले भाषा र प्रविधिसँग सम्बन्धित संस्थाका पदाधिकारीहरुसँग पनि भेटेर अनुवादनका लागि छलफल गरेका थिए।
'गुगलको अनुवादमा कुनै प्रकारको भाँजो कहिँबाट हालिएन भने एक वर्षभित्रमा त्यसको प्रारम्भिक भर्सन आउन सक्छ,' नेपाली विकिपिडियाका प्रशासक गणेश पौडेलले भने। अहिले गुगलले अंग्रेजीबाट ६ दर्जनको हाराहारीका भाषामा अनुवाद गर्ने प्रविधि सुरु गरिसकेको छ।
'अंग्रेजीबाट अरु भाषामा मात्र नभई गुगल अनुवादक भएका सबै भाषाबाट सबैमा यो सुविधा प्रयोग गर्न सकिन्छ,' पौडेलले भने। जस्तै कसैले चिनियाँ भाषामा लेखेकोलाई स्पेनिस, कोरियन भाषामा लेखेकोलाई हिन्दी जस्ता भाषामा समेत अनुवाद गर्न सकिन्छ।
गुगल ट्रान्सलेटरले नेपालीमा लेखिएको लेखलाई जुनसुकै भाषामा अनुवाद गर्न सक्नेछ। गुगलले अनुवाद गर्दा लेखिएको वाक्यलाई ठ्याक्कै भन्न खोजिएको कुरा नआउन सक्छ। त्यसो हुँदा काम गर्दै, परीक्षण गर्दै जाँदा लामो समय लाग्न सक्ने यसमा संलग्न प्राविधिकहरुले बताएका छन्।
इन्टरनेट साइटहरुमा अहिले करोडौं सूचना छन्। तर सबैले अंग्रेजी भाषा नजान्ने भएकाले त्यहाँ भएका जानकारीहरु पढ्न सक्दैनन्। नेपालीमा अनुवाद गर्ने सुविधा भए कम्प्युटरमा भएका सबै जानकारीहरु अध्ययन गर्न सक्छन्।
नेपाली अनुवादक शब्दकोश बनाउने प्रयास केही वर्षअघि मदन पुरस्कार पुस्तकालयले सुरु गरेको थियो। त्यसका लागि आवश्यक पर्ने भाषाका शब्दभण्डार (कर्पस) बनाउने काम आधा सम्पन्न भइसकेको थियो। तर थप स्रोत साधन जुटाउन नसकेर त्यो काम बीचमै राकिएको छ। त्यसपछि अहिले गुगल जस्तो सबैभन्दा बढी हेरिने साइटले यो अभियान थाल्न लागेको हो।






