पोर्चुगललाई युरोमा पुग्न गाह्रो

पेरिस, कात्तिक २७ (एएफपी)- गणतन्त्र आयरल्यान्ड, क्रोएसिया र चेक गणतन्त्रले युरो २०१२ मा छनोट हुने सम्भावना बलियो बनाउँदा बोस्नियासँग गोलरहित बराबरी खेलेपछि पोर्चुगलले अन्तिम चरणमा पुग्न कडा मेहनत गर्नुपर्ने भएको छ।
२०१० को विश्वकप प्लेअफमा फ्रान्ससँग तीतो अनुभव बटुलेको आयरल्यान्डले तालिनमा प्लेअफको पहिलो लेगमा ९ खेलाडीमा सीमित इस्टोनियालाई ४-० ले पराजित गरी १९८८ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपमा खेल्ने लगभग पक्का गर्‍यो।
पहिलो हाफमा किथ एन्ड्रुज र जोनाथन वाल्टर्सले गरेको गोलमा कप्तान रोबी किनले दुई गोल थपेपछि इटालियन प्रशिक्षक जिओभानी ट्रापाटोनीको आयरल्यान्डले कमजोर इस्टोनियालाई सजिलै पन्छायो। एन्ड्रे स्टेपानोभले ३५औं मिनेटमा किनलाई फाउल प्रहार गरेपछि रातो कार्ड पाए भने कप्तान राइओ पिरोजाले पनि उनलाई पछ्याउँदै मैदान छाडे।
टर्कीलाई उनीहरूकै मैदानमा ३-० ले पराजित गरेपछि क्रोएसिया पनि युक्रेन र पोल्यान्डले संयुक्त आयोजना गर्ने प्रतियोगितामा छनोट हुने लगभग पक्का भएको छ। इस्तानबुलमा इभिआ ओलिज, मारिओ मान्दजुकिज र भेड्रान कोर्लुकाले क्रोएसियाको विजयमा गोल गरे।
प्रागमा चेकले मोन्टेनेग्रोलाई २-० ले पराजित गर्‍यो। भाक्लाभ पिलार र टोमास सिभोजले घरेलु टोलीबाट गोल गरे।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..