नेताहरूद्वारा सुविधा फिर्ता


काठमाडौ, मंसिर २४ - 
सर्वोच्च अदालतको आदेश पालना गर्दै पूर्वप्रधानमन्त्री र गृहमन्त्रीहरूले सुविधाका सवारी र सुरक्षाकर्मी फिर्ता गर्न सुरु गरेका छन् । 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान सरकारी सुविधामा प्रयोग गर्दै आएका गाडी सरकारलाई फिर्ता गरेका छन् । 

दाहालका स्वकीय सचिव समीर दाहालका अनुसार उक्त जिप प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौड्याललाई बुझाइएको छ । उपसमिति बैठकमा भाग लिन दाहाल स्कोर्पियो जिप चढेर गएका थिए । सरकारी सुविधाअनुसार सबैभन्दा बढी गाडी र सुरक्षाकर्मी दाहालले नै लिएका थिए । उनले पछुवा गाडी र सुरक्षाकर्मी भने फिर्ता गरेका छैनन् । यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि मुख्य सचिव माधव घिमिरेलाई फोन गरी गाडी फिर्ताको व्यवस्था गर्न आग्रह गरेका छन् । उनका सहयोगी सूर्य थापाका अनुसार सरकारले शनिबार फिर्ता नगराए आइतबार पार्टी कार्यालयबाटै गाडी फिर्ता पठाउने योजनामा खनाल छन् । पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले शुक्रबार नै सुविधाका गाडीलगायत सुविधा फिर्ता गरेका थिए । यस्तै, पूर्वगृहमन्त्रीद्वय वामदेव गौतम र भीम रावलले पनि सुविधाका सवारी र सुरक्षाकर्मी फिर्ता गरेका छन् ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..