ओली, गौतम र बोहोरा सभासद् बन्ने

एमालेमा 'पार्टी समीकरण मिलाउन' नेतात्रय केपी ओली, वामदेव गौतम र अमृतकुमार बोहोरालाई सभासद् बनाउने तयारी सुरु भएको छ। स्रोतका अनुसार आउँदो स्थायी कमिटी बैठकमा यस्तो प्रस्ताव लैजाने गरी तयारी भएको हो।


 बैठकको मिति भने तय भएको छैन। पार्टी सन्तुलन मिलाउन गरिएको उक्त प्रक्रियामा महासचिव ईश्वर पोखरेलले असहमति जनाएका छन्।
ओलीलाई मात्र सभासद् मनोनीत गर्ने तयारी भइरहेका बेला संस्थापन पक्षबाटै गौतमको नाम प्रस्ताव भएको थियो। 'एकताको समीकरण मिलाउन गौतमलाई मात्रै होइन, अमृत बोहोरालाई पनि थप गर्ने तयारी भएको छ,' अध्यक्ष झलनाथ खनाल पक्षधर एक पोलिटब्युरो सदस्यले भने।
पार्टीभित्र सैद्धान्तिक एकताको खाँचो भएकाले पद बाँडफाँट गरेर केही नहुने बोहोराले बताए। 'पार्टीभित्रको समस्या सुल्झाउन सन्तुलनको खाँचो छ। हामी त्यहाँ गएर संविधान बन्ने नबन्ने के हो भन्ने प्रस्ट छैन। त्यस्तो प्रस्ताव ल्याउने साथीहरूले प्रस्ट पारेपछि मात्रै छलफल हुन्छ,' बोहोराले भने।
पार्टीस्रोतका अनुसार आगामी नवौं महाधिवेशनमा शक्ति सन्तुलन मिलाउन अध्यक्ष खनाल ओलीसँग छलफलपछि मनोनीत गर्ने निष्कर्षमा पुगेका हुन्। 'खनाल र ओलीबीचको सहमतिमा सभासद् मनोनीत गर्दा बाहिर के सन्देश जान्छ, थोरै समयका लागि किन जानुपर्‍यो?,' महासचिव पोखरेललाई उद्धृत गर्दै उनी निकट एक नेताले भने।
तीन नेताका लागि २६ मनोनीतमध्ये जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा र शीला कतिलालाई फिर्ता बोलाउने तयारी भएको छ। यी दुईको ठाउँमा ओली र गौतमलाई मनोनीत गरिनेछ। बोहोराका लागि भने प्रहरीसँग घुस लिएको आरोपमा निलम्बित डिबी कार्कीलाई राजीनामा गराउने तयारी भएको छ।
'बाहिर म फिर्ता हुनुपर्ने हल्ला सुनेको छु। आधिकारिक निर्णय आएको छैन। निर्णय भएपछि के गर्ने, विचार गर्छु,' शेर्पाले बुधबार राति नागरिकसँग भने। एमालेले यसअघि मनोनीत सुशीलचन्द्र अमात्यलाई फिर्ता बोलाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई मनोनीत गरेको थियो। अमात्य अहिले श्रीलंकाका लागि राजदूत छन्।
पार्टीभित्र बलियो गुटका ओली, मालेबाट आएका कार्यकर्ताको भावना कदर गर्न गौतम र संस्थापन पक्षमा संगठक मानिने बोहोराको भूमिका संविधान निर्माणमा राम्रो हुने निष्कर्षसहित उनीहरूलाई मनोनीत गर्ने तयारी भएको हो।
गौतमलाई जेठ १४ गते सकिने संविधानसभामा छोटो अवधिका लागि नजान उनीनिकटले सुझाव दिएका छन्। तर, गौतमले समीकरण मिलाउन ओली गएपछि आफू जानुपर्ने बताएका छन्। 'संविधान जारी भएपछि अन्तरिम संसदमा परिणत हुन्छ। त्यहाँ भूमिका खेल्न पनि जानु उपयुक्त हुन्छ। पार्टी समीकरण मिलाउन जानुपर्छ', गौतम निकट एक नेताले भने।
मधेसी दलसहित तीन मुख्य दलबीच राष्ट्रिय सहमतिको सरकार गठन हुने सहमति भएकाले त्यहाँ भूमिका निर्वाह गर्न तीन नेता जानुपर्ने पार्टीले निष्कर्ष निकालेको छ। अध्यक्ष खनाल सरकारबाट बाहिरिएपछि पार्टीमा नयाँ समीकरण बढेको छ।
स्रोतका अनुसार अनुभवी ओलीको मनोनयन राष्ट्रिय सहमतिको सरकारमा 'भूमिका लिन सक्ने' देखेरै हुन लागेको हो।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..