२२९ मेनपावरको इजाजत रद्द

श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई विदेश जाने कामदारको सङ्ख्या २०६७–६८ मा तीन लाख ५४ हजार सात सय १६ जना रहेको विभागले जनाएको छ । विभागका अनुसार सो सङ्ख्या अघिल्लो आव भन्दा २०.६१ प्रतिशतले बढी रहेको छ । उक्त आवमा तोकिएको लक्ष्य दुई लाख ७५ हजारको अनुपातमा प्रगति एक सय २९ प्रतिशत भएको छ ।
वैदेशिक रोजगारका लागि खुला गरिएका संस्थागत एक सय आठ वटा मुलुकसहित एक सय २३ वटा मुलुकमा व्यक्तिगत र संस्थागत श्रम स्वीकृति लिई विदेश जाने पुरुष तीन लाख ४४ हजार तीन सय र महिला १० हजार चार सय १६ रहेका छन् ।
यस अवधिमा विभिन्न २२ मुलुकका लागि तीन हजार ६९ हजार छ सय ४४ कामदारलाई पूर्व स्वीकृति दिइएको मन्त्रालयले जनाएको छ ।
गत आव ०६७–६८ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत दिइएका एक सय १९ वटा मेनपावर र इजाजतपत्र रद्द गरिएका २० वटा मेनपावर कम्पनी रहेका छन् ।
गत असार मसान्तसम्म नौ सय ९१ मेनपावर कम्पनीलाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत दिइएकामा दुई सय ३५ वटा मेनपावरको इजाजत रद्द (खारेजी) भई हाल सात सय ५६ वटा मेनपावर कम्पनीले व्यवसाय सञ्चालन गरिरहेका छन् ।
उक्त आवमा व्यक्तिगत उजुरी सात सय २१ वटा र संस्थागत उजुरी चार सय ८३ वटा गरी एक हजार दुई सय चारवटा उजुरी दाबी रकम रु ६४ करोड १३ लाख ९३ हजार ६७ सहित विभागमा परेकामा सो मध्ये एक हजार एक सय चारवटा उजुरी फरफारक गरी फरफारक रकम रु २१ करोड ९६ लाख ८७ हजार चार सय ४७ पीडितलाई क्षतिपूर्ति दिलाइएको विभागले जनाएको छ ।
बिगो दाबी रकम २१ करोड १६ लाख ६६ हजार आठ सय ३४ गरी ९७ वटा मुद्दा अदालतमा दायर भएका छन् ।
यस्तै, वैदेशिक रोजगार व्यवसायलाई अझ सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने क्रममा विभागको काम कारबाहीलाई वेब बेसमा लाने प्रक्रिया सुरु गरिएको छ
हाल डाटा इन्ट्री कार्य जारी रहेको र उच्च क्षमतायुक्त सर्भरको स्थापनासम्बन्धी कामकारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
विभागको कामकारबाहीसँग सम्बन्धित नीति नियम, निर्देशिकालगायत विभागसँगै सम्बन्धित सम्पूर्ण विवरण विभागको वेबसाइट ‘डब्ल्युडब्ल्युडब्ल्यू डट डिओएफई डट जिओभी डट एनपी’ मा उपलब्ध रहेको जनाइएको छ ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..