छैटौं राष्ट्रिय खेलकुद

 केही समयअघिसम्म सुनसानझं देखिने जिल्ला खेलकुद विकास समिति परिसरमा पछिल्लो एक साता चहलपहल ह्वात्तै बढेको छ । छैटौं राष्ट्रिय खेलकुद आयोजना स्थलमध्येको एक महेन्द्रनगरमा भौतिक पूर्वाधार निर्माणसँगै खेलाडीहरू प्रशिक्षणमा व्यस्त हुँदा चहलपहल बढेको हो ।

घर आँगनमै भइरहेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिँदै जाँदा पुसको जाडोमा पनि खेलाडी तातेका छन् । सबै खेलका जिल्लास्तरीय प्रतियोगिता सम्पन्न भइसकेका छन् । २१ खेलमा ३ सय ८ खेलाडी छनोट भएका हुन् । उनीहरू क्षेत्रीय तथा छैटौं राष्ट्रिय खेलकुदका लागि प्रशिक्षणमा व्यस्त छन् । 

महिला र पुरुष गरी भलिबलका ३२ जना खेलाडी बिहान र साँझ कडा प्रशिक्षणमा व्यस्त देखिन्छन् । सातादेखि बिहान अढाई घन्टा र साँझ ३ घन्टा प्रशिक्षण दिने गरिएको प्रशिक्षक जगदिश भट्टले बताए । कपर्दी, सुटिङ, फुटबललगायतका खेलाडी पनि प्रशिक्षणमै छन् । सुटिङका प्रशिक्षक लक्ष्मण थापा, पारिवारिक तथा विविध कारणले बीचमै खेल छोडेका महिला खेलाडीहरू पनि आफ्नै गाउँठाउँमा बृहत् खेलकुद हुने भएपछि प्रशिक्षणमा आउन थालेको बताउँछन् । 

२१ खेलका नियमित प्रशिक्षण पनि जारी छन् । छैटौंकै लागि राखेपले थप प्रशिक्षक पठाएको छ । आईटीएफ तेक्वान्दो, फुलकन्ट्याक्ट कराँते, ब्याडमिन्टन, तेक्वान्दो, सुटिङ, जुडो, उसु र एथलेटिक्सका प्रशिक्षक आएका हुन् । जिल्लामा दरबन्दी नभएका प्रशिक्षकहरू सरुवा तथा काजमा आएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले बताए । 

छैटौंको चहलपहलले गर्दा खेलकुद विकास समिति परिसरको माहोल नै फेरिएको हो । प्रशिक्षणसँगै भौतिक पूर्वाधार निर्माणका काम पनि जारी छन् । कभर्डहल रंगरोगनको काम सकिनै लागेको छ । कभर्डहलको पश्चिम दक्षिणमा क्रिकेट मैदान निर्माण भइरहेको छ । त्यसका लागि २८ लाख रुपैयाँ विनियोजन गरिएको छ । भलिबल प्रशिक्षण केन्द्रलाई पनि फराकिलो पारिँदैछ । समापनसहितको प्रतियोगिताका लागि खुला मञ्चमा पनि काम भइरहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भट्टले बताए । हकी खेलका लागि सिद्धनाथ बहुमुखी क्याम्पस हातामा मैदान निर्माणका लागि प्राविधिकहरू खटिएको पनि उनले जनाए ।  

राष्ट्रिय खेलकुद परिषद्ले तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्न महेन्द्रनगर र धनगढीमा भौतिक पूर्वाधार निर्माण तथा मर्मत व्यवस्थापनका काम भइरहेको जनाएको छ । केहीअघि राखेपका सदस्य सचिव युवराज लामा महेन्द्रनगर आएका बेला यहाँका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीले खेलकुद मैदान निर्माणका लागि बजेट कम भएको गुनासो गरेपछि क्रिकेट मैदान निर्माणलगायतमा करिब २८ लाख रुपैयाँ विनियोजन गरिएको हो । उक्त रकम आएपछि खेलकुद विकास समितिको आन्तरिक निर्माण समितिले मैदान निर्माण सुरु गरेको हो ।  

फागुन १४ देखि २१ गतेसम्म छैटौं कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुन गइरहेको छ । धनगढीमा उद्घाटन समारोहसहित १४ खेल र महेन्द्रनगरमा समापन समारोहसहित १२ खेल हुने राखेपले जनाएको छ । धनगढीमा एथलेटिक्स, फुटबल, महिला भलिबल, लनटेनिस, सफ्टटेनिस, ह्यान्डबल, जुडो, पुरुष कपर्दी, बक्सिङ, कराँते, ब्याडमिन्टन, महिला/पुरुष बास्केटबल, जिम्न्यास्टिक र साइक्लिङ 

हुनेछन् । महेन्द्रनगरमा महिला/पुरुष क्रिकेट, हकी, चेस, आर्चरी, भारोत्तोलन, शारीरिक सुगठन, कुस्ती, महिला कपर्दी, उसु, तेक्वान्दो, पुरुष/महिला टेबलटेनिस, फुटबल र पुरुष भलिबल राखिएको छ । 
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..