धर्म भित्रको रहस्य

धर्म शब्दको व्याख्या विविध अर्थमा भएको पाइन्छ। सबैको सार हेर्दा धर्म भनेको कर्तव्य-कर्म हो। प्राणीले आफ्नो स्वभावअनुसार प्रकट गर्ने व्यवहारलाई नै धर्म मान्न सकिन्छ। हुन त कतिपय मानिसले निर्जीव वस्तुले पनि आफ्नो कर्तव्य पालन गरेर धर्म देखाएका छन्। सूर्य सदैव प्रकाशित हुन्छ। नदीले आफैं जल पिउँदैन। वृक्षले आफैं फल खाँदैन। वर्षा अरूकै हितका निम्ति वर्षन्छ तसर्थ महान् बन्न परोपकारी बन्नुपर्छ, यो नै सच्चा धर्म हो। मानिसले यस्ता विविध उदाहरणमार्फत आफूमा धार्मिक प्रवृत्ति बढाउन पहल गर्नुपर्छ। 

धर्मको मार्ग ज्यादै कठिन छ। धर्म यदि कर्तव्य पालन हो भने यो सबै अवस्थामा पालनयोग्य हुन्छ। महाभारत वनपर्वमा एउटा कथा छ। एक दिन द्रौपदीले युधिष्ठिरसँग भनिन्- 'तपाईं धर्मको मार्गबाट कहिल्यै विचलित हुनुभएको छैन तर पनि जंगलमा दुःखपूर्वक विचरण गरिरहनुभएको छ। जब कि दुर्योधनले धर्मको अलिकति पनि ख्याल राखेको पाइँदैन। ऊ भने महलमा आरामपूर्वक सुखभोग गर्दैछ। यस्तै हुने हो भने धर्मपालन गर्नुको के अर्थ ?' द्रौपदीबाट यस्तो शंका प्रकट भएपछि  युधिष्ठिरले भनेका थिए- 'द्रौपदी' जो सुख पाइने इच्छाले धर्मको पालना गर्छन् त्यस्ताले कहिल्यै धर्मको रहस्य बुझ्दैनन्। धर्मको तत्त्व अगाध छ। सुखको कामनाले धर्म गर्नेहरू पशु हुन्, जो सधैं भोगका लोभी तथा दुःखदेखि डराउने हुन्छन्। त्यस्ताले धर्मको गूढ रहस्य के जानून् ? यसकारण मनुष्यता भएको मानिसले अनुकूल एवं प्रतिकूल परिस्थितिको कुनै परवाह नगरी केवल कर्तव्य धर्म वा मानव धर्मको पालना गर्नुपर्छ।' 

यो कथाबाट मानव धर्म पालना गर्नुपर्ने सन्देश पाइन्छ। मानव धर्म कस्तो हुन्छ ? यो विचारणीय कुरा हो। सुख-दुःख आदिमा समभाव राखेर निष्काम कर्ममा लाग्नु मानवीय धर्म हो। धर्म पालना गर्ने विषयमा कुरा गर्न जति सजिलो छ त्यति नै गार्‍हो छ काम गरेर देखाउन। त्यसैले सबै साधारण मानिसले धर्मको पालना गर्न सक्दैनन्। प्रयोजनबिना काम गर्ने कुरा अहिलेको शिक्षाप्रणालीविरुद्ध छ। अहिले विद्यालय, महाविद्यालय एवं विश्वविद्यालयहरूमा असल बन्न होइन सफल बन्न सिकाइन्छ। बाल्यावस्थादेखि नै मानिसलाई तिम्रो लक्ष्य के हो ? डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी आदि के बन्ने भनेर सोधिन्छ। तिमी ठूलो भएपछि यस्तो बन्नुपर्छ, पैसा धेरै कमाउनुपर्छ भनेर सिकाइन्छ तर असल बन्नुपर्छ भन्ने कुरा निकै कम शिक्षालयमा मात्र सिकाइन्छ। धर्मले मानिसलाई सफल नबनाउन सक्छ तर असल भने पक्कै  बनाउँछ। 

धर्मले मानिसलाई प्रकृतिको नजिक लान्छ। प्राकृतिक कुरा विकाररहित हुन्छन्। मानिसको प्रकृति पनि विकाररहित नै हुन्छ। हुर्कदै जाने क्रममा मानिसलाई कृत्रिम बनाउँदै लगिन्छ। परिणामस्वरूप उसमा विभिन्न विकार उत्पन्न हुन थाल्छन्। कृत्रिम वस्तुमा कयौं विकार हुन्छन्। यसको छायाले जीवनलाई छोएपछि मानिस पनि कृत्रिम बन्छ। उसमा धर्म पालना गर्नसक्ने शक्ति रहँदैन। 

सामान्य रूपमा हेर्दा धर्म पनि दुई प्रकारका देखिन्छन्। मानवीय धर्म वा प्राकृतिक धर्म तथा साम्प्रदायिक धर्म वा कृत्रिम धर्म। मानवीय वा कृत्रिम धर्म सार्वजनीन हुन्छ, सर्वग्राह्य हुन्छ, सर्वथा विकाररहित हुन्छ। यसले विश्वका सबै मानिस एवं प्राणीलाई समान रूपले बाँच्न सिकाउँछ। एक-अर्कासँग मिलेर बाँच्न सिकाउँछ। परस्पपरमा सम्मान एवं भाइचाराको भावना वृद्धि गराई सहज ढंगले जीवनयापन गर्ने बाटो देखाउँछ। त्यसको ठीक विपरीत साम्प्रदायिक धर्म हुन्छ। त्यसले मानिसलाई फुटाएर समूहमा विभाजन गर्छ। आफूले मानेको मत नै सर्वश्रेष्ठ छ भन्ने अहंकार बढाउँछ। साम्प्रदायिक मत सधैं अरूको विरोध वा खण्डन गरेर आफ्नो श्रेष्ठता कायम गर्न प्रयासरत रहन्छ। यसका कारण विश्वमा धेरैपटक युद्ध भएका छन्। धेरै मानिसले जीवन गुमाएका छन्। 

धर्मको मार्ग सरल हुन्छ। कुनै कर्मकाण्ड, प्रार्थना एवं अन्धविश्वासबिना सहज ढंगले बाँच्ने कला नै यथार्थमा धर्म हो। धर्म आडम्बररहित हुन्छ। धर्ममा परोपकारको भावना छ। अरूलाई एवं आफ्नै शरीरलाई दुःख दिनु अधर्म मानिन्छ। सच्चा धर्मले कहिल्यै कसैलाई दुःख दिँदैन। धर्म सत्यमा अडेको हुन्छ। सत्य कहिल्यै दोस्रो नभएझैं धर्म पनि दोस्रो हुँदैन। धर्म एउटै हुन्छ, सनातन हुन्छ। कसैलाई हानि पुर्‍याउने विचार बोकेको मत कदापि धर्म हुन सक्दैन। धर्मको खोल ओढ्दैमा असत्य सत्य हुन सक्दैन।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..