झापामा बम आतङ्क


भद्रपुर, पुस २४- झापाको विर्तामोडको विर्ता एफएम अगाडि बम राखेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कुमरखोद-१ बस्ने तेजबहादुर लिम्बू, मोरङको बेलबारी-२ बस्ने २८ वर्षीय राजबहादुर गुरुङ र पाँचथर घर भई हाल विर्तामोड-३ मा डेरा गरी बस्ने ३९ वर्षीय सूर्यबहादुर याङ्याल छन्।
उनीहरुलाई प्रहरीले गएराति विर्तामोडबाट पक्राउ गरेको हो।
विर्तामोड-३ स्थित विर्ता एफएमको अगाडि बियरको बोतलमा बालुवा र ज्वलनशील पदार्थ भरेर त्यसमा डेनाटर तार जोडिएको अवस्थामा शनिबार साँझ फेला परेको थियो। सो स्थानमा एउटा पेस्तोल र किराँत वकर्स पार्टीको विज्ञप्ति राखिएको प्रहरी निरीक्षक छविरमण भट्टराईले जानकारी दिए।
उक्त बमलाई आज बिहान ८ : १५ बजे चारआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरेको छ। रासस
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..